धनुषामा केही दिनअघि वैदेशिक रोजगारीबाट फर्केका एक व्यक्तिले आफ्नै बुवा र श्रीमतीको हत्या गरेका छन् ।
मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ ललिया निवासी भागेश्वर मण्डलले ५५ वर्षीय बुवा रामवृक्ष र २४ वर्षीया श्रीमती अमिरकादेवीको हत्या गरेका हुन् । दुवै जनाको हत्या गरी शव छिमेकी रामकिसुन मण्डलको आँपको बगैंचामा खाल्डो खनेर गाडेका थिए।
२७ वर्षीय भागेश्वरले सोमबार राति १२ बजेतिर दुवैको हत्या गरेको पाइएको धनुषाका प्रहरी प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । ‘बिहान उनका ३ र ४ वर्षका बच्चा रोइरहेको र भागेश्वर आफैं टोलाएर बसिरहँदा पुगेका छिमेकीले दुवैको हत्या भएको पत्ता लगाएर हामीलाई जानकारी गराएका थिए,’ बस्नेतले भने, ‘तत्कालै भागेश्वरलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले हत्या गरेको स्वीकारेका छन् ।’
शव गाडेको ठाउँमा उत्खनन् गर्दा दुवैको शव फेला परेको बस्नेतले जानकारी दिए ।
भागेश्वर वैदेशिक रोजगारीबाट गत चैत महिनामा घर फर्केका थिए । पारिवारिक विवादका कारण उनले बुवा र श्रीमतीको हत्या गरेको देखिएको प्रहरीको भनाइ छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।