एमालेबाट छुट्टिएर नयाँ दल नेकपा एकीकृत समाजवादी दर्ताको प्रक्रियामा रहेका नेता माधवकुमार नेपाल पक्षका नेताहरूले आफूहरूको पनि टाउको गनेर केही नेताहरू भाग खोज्न बालकोट पुगेको प्रतिक्रिया दिएका छन् ।
नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले भने, ‘उहाँहरू (माधव नेपाल निकट भनिएका तर पार्टी विभाजनमा साथ नदिएका) हाम्रो समेत टाउको गनेर भाग खोज्दै हुनुहुन्छ । उहाँहरूले कसरी हामीलाई समेट्न सक्नुहुन्छ ?’
नेपाल एमालेमा रहँदा उनलाई साथ दिएका तर पार्टी विभाजन हुँदा नगएका नेताहरूले सोमवार एमाले अध्यक्ष ओलीसँग उनकै निवास बालकोटमा छलफल गरेर पार्टी विवाद समाधान भएको बताएका थिए ।
छलफलमा ओलीले यसअघि कार्यदलले गरेको सहमति कार्यान्वयन गर्न तयार रहेको र त्यसका लागि भदौ ८ गते स्थायी कमिटीको बैठक बोलाउने बताएका थिए । माधव नेपाललाई साथ नदिएका नेताहरू स्थायी कमिटी बैठकमा सहभागी हुन सहमत भएका छन् ।
नेता पाण्डेले केपी ओलीलाई कुनै हालतमा विश्वास गर्न नसकिने बताए । ‘पहिला पनि ओलीको धेरै कुरा सुनिएको हो । उहाँले धेरैपटक माग पूरा गरेको पनि देखेकै हो । उहाँ माग पूरा गर्छु, कारबाही फिर्ता लिन्छु भन्न कहिल्यै छाड्नुहुन्न र पूरा पनि कहिल्यै गर्नुहुन्न । उहाँलाई राम्रोसँग चिनेका छौं,’ पाण्डेले भने ।
ओलीले बोलाएको बैठकमा आफू पक्षका नेताहरू सहभागी नहुने पाण्डेले बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।