शनिबार, साउन ९ २०८३
ताजा अपडेट

आज जनै पूर्णिमा, रक्षाबन्धन : के छ महत्त्व ?


  • आइतबार, भाद्र ६ २०७८
9.3K
SHARES

फाइल तस्विर

हिन्दू धर्मावलम्बीहरूको पवित्र पर्व जनै पूर्णिमा अर्थात् ऋषितर्पणी आज धुमधामका साथ मनाइँदैछ। जनै पूर्णीमाका दिन पुरोहितबाट नयाँ जनै फेर्नुका साथै हातमा रक्षा-बन्धन बाँध्ने परम्परा छ।

यस दिन तराईमा दिदीबहिनीले दाजुभाइको नाडीमा राँखी बाँधेर मनाउने गर्छन्। यस्तै नेवारी समुदायमा क्‍वाँटी खाएर अर्थात् भ्यागुताको पूजा गरेर पर्व मनाउने प्रचलन छ।

यस दिनमा बिहान नुहाइ धुवाइपछि जौं, तील र कुशले ऋषिहरुलाई तर्पण गरी वैदिक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेर्ने गरिन्छ। ऋषिलाई तर्पण गर्ने भएकाले यस दिनलाई ऋषितर्पणी भन्ने गरिएको हो।

यसै दिन तराईमा दिदी बहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्ने चलन रहेको छ। यस दिन दिदीबहिनी तथा दाजुभाइ एकै ठाउँमा जम्मा भएर राखी बाँधी गच्छेअनुसारको उपहार आदानप्रदान गर्छन्।

पछिल्ला वर्षमा पहाडी समुदायमा पनि राखी बाँध्ने चलन बढ्दो छ। नेवारी समुदायले भने श्रावण शुक्ल पूर्णिमालाई गुँपुन्ही भनी मनाउने गर्दछन्। यस समुदायमा नौवटा गुडागुडी मिश्रण गरिएको क्‍वाँटी खाने प्रचलन छ। पछिल्लो समय यो खान्की नेवार समुदायबाट विस्तार भएर अन्य समुदायसम्म पुगेको छ। अन्य समुदायका मानिसले जनै फेरेर क्‍वाँटी खाने गर्छन्। टुसा पलाएको पौष्टिक तत्वयुक्त क्‍वाँटी स्वास्थ्यलाई फाइदाजनक हुने चिकित्सकहरु बताउँछन्।

यस दिन नेवारी समुदायका मानिसले धुमधामका साथ भ्यागुताको पूजा गर्छन्।भ्यागुतालाई पानीको प्रतीकका रुपमा लिइने भएकाले यसको रक्षा गर्न जनैपूर्णिमाका दिन विशेष पूजा गरिँदै आएको हो। ताल, पोखरी, कुवा तथा पानीको तलाउमा भ्यागुता रहने र यसले पानीको बचाउ गर्छ भन्ने विश्वासका साथ यस दिन क्‍वाँटी दिएर पूजा गरिएको हो।

क्‍वाँटी विशेषगरी मास, मुगी, केराउ, बोडी, चना, राजमा, सिमी, भट्मास, मकै, बकुल्लालगायत कम्तीमा नौ थरी गुडागुडीको मिश्रणबाट बनेको हुन्छ। यसले शरीमा ताप कायम राख्ने र वर्षायाममा लाग्ने चिसोका रोगबाट बच्ने शरीरलाई शक्ति दिने भएकाले यस दिन क्‍वाँटी खाने चलन रहेको भनाइ छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा