आइतबार, कार्तिक ९ २०८३
ताजा अपडेट

माधवलाई ‘छाडेका’ नेताहरुको ओलीलाई चेतावनी : दुई दिनभित्र १० बुँदे कार्यान्वयन नभए विद्रोह


  • शुक्रबार, भाद्र ४ २०७८
14.7K
SHARES

तस्विरः फाइल

माधवकुमार नेपालसँग रहेका तर, उनको नयाँ पार्टीमा नगएका नेकपा एमालेका नेताहरुले १० बुँदे सहमति कार्यान्वयनका लागि अध्यक्ष केपी शर्मा ओलीलाई दुई दिने अल्टिमेटम दिएका छन् । नभए विद्रोह गर्ने र यो माधव नेपालले नयाँ पार्टी बनाउँदा भन्दा ठूलो क्षति हुने उनीहरुको दाबी छ ।

अध्यक्ष ओली र नेता नेपाललाई दबाब लिँदै संयुक्त वक्तव्य जारी गरेका स्थायी कमिटीका ९ सदस्यले शुक्रबार केन्द्रीय सदस्य र सांसदहरुसँग छलफल गरेका थिए । एक नेताका अनुसार छलफलमा ५७ जना सहभागी भएका थिए ।

बैठकले दुई दिनभित्र १० बुँदे अक्षरशः कार्यान्वयन गर्न पार्टी अध्यक्ष ओलीलाई आग्रह गरेको छ । ‘१० बुँदेसँगै सहायक डकुमेन्टका रुपमा माइन्युट गरिएको छ, त्यसअनुसार तत्काल २ जेठ २०७५ को स्थायी कमिटी बोलाउनुपर्छ,’ एक नेता भन्छन्, ‘स्थायी कमिटीले १० बुँदे अनुमोदन गरेपछि माओवादी केन्द्रबाट आएका र १० प्रतिशत केन्द्रीय सदस्यहरु थप गरेर अर्को बैठक बोलाइयोस् ।’

तल्लो तहका कमिटीहरु र जनवर्गीय संगठनहरु २ जेठ २०७५ मा फर्किंदा हुने समस्या हल गर्न निश्चित समय दिएर कार्यदल गठन गर्नुपर्ने यो समूहको माग छ ।

१० बुँदे अक्षरशः कार्यान्वयनसँगै १४ सांसदमाथि गरिएको कारबाही फिर्ता लिन अध्यक्ष ओलीलाई र नयाँ पार्टी दर्ता प्रक्रिया अघि नबढाउन नेता माधवकुमार नेपाललाई आग्रह गरिएको केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले जानकारी दिए ।

दुई दिनभित्र अध्यक्ष ओलीले १० बुँदे कार्यान्वयन नगरे विद्रोह गर्ने यो समूहको चेतावनी छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा