कञ्चनपुरको भीमदत्त नगरपालिकामा प्रहरी र शिक्षकबीच शुक्रबार झडप भएको छ । दरबन्दी मिलानको विषयलाई लिएर शिक्षकहरुले भीमदत्त नगरपालिकामा लगाएको ताला प्रहरीले खोलेपछि झडप भएको हो ।
झडपमा परी प्रहरीसहित १७ जना घाइते भएका छन् । घाइते हुनेमा ९ जना प्रहरी, ६ जना शिक्षक र २ जना नगरपालिकाका कर्मचारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एवं प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।
नगर शिक्षा समितिले गरेको दरबन्दी मिलानप्रति असहमति जनाउँदै नेपाली कांग्रेस निकट शिक्षक संघले भीमदत्त नगरपालिकाको मूलगेटमा शुक्रबार तालाबन्दी गरेको थियो ।
नगरपालिकाको मूलगेटमा लगाएको ताला प्रहरीले खोल्ने क्रममा झडप भएको प्रहरीले जनाएको छ । झडपले उग्ररुप लिएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास समेत प्रहार गरेको थियो ।
प्रहरीलाई ताला लगाएर कोठाभित्रै थुनिदिएपछि बल प्रयोग गर्न बाध्य भएको चतुर्वेदीले बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।