आइतबार, कार्तिक ९ २०८३
ताजा अपडेट

सभामुखलाई एमालेको प्रश्न : १४ सांसदलाई किन कारबाही नगरेको ?


  • बिहिबार, भाद्र ३ २०७८
9K
SHARES

फाइल तस्विर

नेकपा एमालेले आफूहरुले १४ सांसदलाई दल त्यागको कारबाही गरेको तीन दिन बितिसक्दा पनि सभामुखले सूचना प्रकाशन नगरेको भन्दै असन्तुष्टि जनाएको छ ।

दलको ह्वीप उल्लंघन गर्ने सांसदलाई सम्बन्धित दलले दल त्यागको कारबाही गरेर संसद सचिवालयमा जानकारी गराएमा सभामुखले त्यस्तो सूचना संसद बैठकमा पढेर सुनाएपछि  वा सूचना टाँस गरेपछि ती सांसद पदमुक्त हुने कानूनी व्यवस्था छ ।

तर एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई दल त्यागको कारबाही गरेर भदौ १ गते नै जानकारी गराइसकेपनि सभामुखले अहिलेसम्म किन सूचना प्रकाशन नगरेको भनी प्रश्न गरेको छ ।

आफूहरुले दल त्यागको सूचना दिएको ७२ घण्टा पुग्न लाग्दासम्म सभामुखले सूचना प्रकाशन नगरेकाले भेटेर ध्यानाकर्षण गराएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिन खोज्दा विश्वासको मत नदिएर ह्वीप उल्लंघन गरेको भन्दै एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल, सांसदहरु जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरीलाई दल त्यागको कारबाही गरेको सूचना संसदमा दिएको थियो ।

‘सो निवेदन संसद सचिवालयमा भदौ १ गते दिउँसो ४ बजेर २० मिनेटमा दर्ता भएको थियो, आज ७२ घण्टा पुग्न लागेको स्थिति छ,’ प्रमुख सचेतक भट्टराईले बताए ।

सभामुखले यसअघि जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई दलले कारबाहीको सूचना दिएको २४ घण्टा नबित्दै र तत्कालीन माओवादी केन्द्रका सांसदहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गैरीशंकर चौधरीलाई कारबाहीको सूचना दिएको ७२ घण्टाभित्रै सूचना प्रकाशित गरेको भट्टराईले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा