बुटवल – नेकपा माओवादी केन्द्र सत्तामा पुगेपछि मुख्यमन्त्रीको कार्यालय डान्सबारमा परिणत भएको छ । लुम्विनी प्रदेशमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री बनेसँगै मुख्यमन्त्री कार्यालय डान्सबारमा रुपमा परिणत भएको हो ।
केसी मुख्यमन्त्री बनेको भोलिपल्टै माओवादीका महिला कार्यकर्ताले सरकारी भवनलाई टिकटक तथा डान्सबारबनाएका छन् । मुख्यमन्त्री कार्यालयको मर्यादा र अनुशासनलाई मिचेर टिकटक बनाउँदै नाच्दै गरेर मोजमस्तीको अवस्थामा महिला नेतृहरु भेटिएका छन् ।
शुक्रवार मुख्यमन्त्री कार्यालय गएका माओवादी कार्यकर्ताले मुख्यमन्त्री कार्यालयका निजी सचिवको कार्यकक्षमै टिकटक बनाउदै नाचगान गरेका हुन् ।
उक्त भिडियो अहिले टिकटकमा भाइरल बनेको छ । ‘बगेको नदी सुकेको कहाँ छ र, जनयुद्व हाम्रो रोकेको कहां छ र’ बोलको गीतमा महिला नेतृ शान्ति बराल नाँचेर टिकटक बनाइरहेकी छन् ।
उनी सारी सर्काउँदै, कम्मर मर्काउँदै ठुम्का लगाइरहेकी छन् । उनी नाच्दा कार्यालयमा रहेका अरु कार्यकर्ताहरुले मुट्ठी उठाएर साथ दिइरहेको भिडियोमा देखिन्छ । अन्य कार्यकर्ता हेरेर हाँसिरहेका छन् । सबै मस्तीको मुडमा देखिन्छन् ।
भिडियोको पृष्ठभूमिमा लुम्बिनी प्रदेश सरकार लेखिएको देखिन्छ । बरालले शेयर गरेपछि सामाजिक सञ्जालमा यो भिडियो भाइरल छ । जित र सत्ताको उन्मादमा भएको यो कार्यको एमालेले विरोध जनाएको छ ।
मुख्यमन्त्री नियुक्त भएको दोस्रो दिनमै सरकारी कार्यालयलाई पार्टी संगठनको सम्पर्क कार्यालयजस्तो गरी नाचँगान गर्ने मस्ती गर्ने कार्यले लुम्बिनी प्रदेशकै जनताको शिर निहुर्याएको भन्दै आलोचना सुरु भएको छ ।
लेखक ऋषि आजादले मुख्यमन्त्री कार्यालयमा यसप्रकारको गतिविधि गरिनु अराजकता, अनुशासन हिन र अभद्रताको पराकाष्ठा भएको बताए । गठबन्धनको सहयोगमा मुख्यमन्त्री बनेको पहिलो दिनमै मुख्यमन्त्री जस्तो प्रदेशकै सबैभन्दा महत्वपूर्ण कार्यालयमा गरिएको यस्तो गतिविधिले माओवादी कार्यकर्तामा सत्ताको उन्माद देखिएको र यसले छिट्टै अन्त्यको मार्ग तिर लैजाने चेतावनी दिए ।