सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले सरकारी सञ्चार माध्यमहरुलाई अझ व्यवस्थित र प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिएका छन् । आज आयोजित स्वागत समारोहमा सचिव डा.अर्यालले आमसञ्चार क्षेत्रलाई स्वतन्त्र, मर्यादित र प्रतिस्पर्धी गराउन आवश्यक नीतिगत व्यवस्था तथा नियमन प्रणालीलाई चुस्तदुरुस्त गर्नुपर्ने धारणा व्यक्त गरे ।
उनले आम जनताको जीवन पद्धतिलाई सहज गराउन सूचना प्रविधिको पहुँच विस्तार गरी यसप्रतिको जनविश्वास अभिवृद्धिका लागि साइबर सुरक्षामा ध्यान दिन आवश्यक रहेको बताए । सचिव अर्यालले नेपाल टेलिकमको सेवा गुणस्तरीय गराउन, हुलाक सेवालाई प्रतिस्पर्धी तुल्याउन र मुद्रण विभागको दायरा बढाउन आवश्यक नीतिगत व्यवस्था गरिने उल्लेख गरे । उनले डिजिटल नेपाल संरचनामा समयानुकूल सुधार, ब्रोड बैंक इन्टरनेट सेवा तथा सूचना राजमार्गको विस्तार, विद्युतीय हस्ताक्षरलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउनुपर्नेमा समेत जोड दिए ।
विसं २०४९ मा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गर्नुभएका सचिव डा अर्यालले अर्थ, वाणिज्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत विभिन्न सरकारी निकायमा कुशलतापूर्वक कार्यसम्पादन गरिसकेका छन् । हालैको मन्त्रिपरिषदको निर्णयबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भई आउनु भएका सचिव अर्यालले आजै आफ्नो पदभार सम्हालेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।