प्रधानमन्त्री शेरबहादुर देउवाको प्रशंसा गर्दै बनाइएको भिडियोबारे उनकै कोर टिमका नेताहरुबीच चर्काचर्की भएको छ ।
नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्री भएपछि उनको सचिवालयले ‘मलाई देउवा मनपर्छ किनभने…’ भन्ने भिडियो बनाएर प्रचारमा ल्याएको छ । ‘प्रोपोगाण्डा भिडियो’ बनाएको भन्दै चर्को आलोचना भएपछि महामन्त्री पूर्णबहादुर खड्का र प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालबाटै विरोध गरेका थिए ।
यसलाई लिएर महामन्त्री पूर्णबहादुर खड्का र सहमहामन्त्री डा. प्रकाशशरण महतबीच चर्काचर्की भएको हो । कांग्रेसको आसन्न महाधिवेशनबारे छलफल गर्न सभापति देउवाले आफूनिकट पदाधिकारी र पूर्वपदाधिकारी बैठक बुढानीलकण्ठमा बोलाएका थिए ।
बिहान नौ बजे शुरु भएको बैठकमा उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, सहमहामन्त्री महत, प्रवक्ता विश्वप्रकाश शर्मा लगायत उपस्थित थिए ।
बैठकमा ढिलो गरी आएका सहमहामन्त्री महतले ‘मलाई देउवा मनपर्छ किनभने…’ भिडियोबारे महामन्त्री खड्का र प्रवक्ता शर्माले गरेका टिप्पणीप्रति आपत्ति जनाएका थिए ।
प्रधानमन्त्रीलाई भेटेरै सुझाव नदिई सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गरेको भन्दै उनले आपत्ति जनाएका हुन् । ‘भिडियो चित्त नबुझे प्रधानमन्त्रीलाई भेटेरै भन्न सकिन्थ्यो,’ कांग्रेस सहमहामन्त्री महतले भने, ‘प्रधानमन्त्रीबारे गलत सन्देश जाने गरी ट्वीट गर्ने कुरा राम्रो भएन । यो गलत काम भयो ।’
महामन्त्री खड्काले भने महतको प्रतिवाद गरेका छन् । आफूहरुले प्रधानमन्त्रीको विरोधमा नभई सचिवालयले बनाएको भिडियो गलत भएको टिप्पणी गरेको उनले बताए ।
‘हामीले प्रधानमन्त्रीको विरोध गरेका होइनौं । सचिवालयले जुन भिडियो सार्वजनिक गरिरहेको छ, त्यसले प्रधानमन्त्रीबारे गलत सन्देश दिएको छ । त्यो तत्काल रोक्नुपर्छ,’ महामन्त्री खड्काले भने, ‘म प्रधानमन्त्रीकै अगाडि भन्छु, भिडियोले प्रधानमन्त्रीकै आलोचना बढाउने काम गरेको छ ।’
महामन्त्री खड्काले गलत सन्देश जाने गरी भिडियो बनाउने काम रोक्न देउवाको ध्यानाकर्षण गराए । त्यसपछि देउवाले पनि भिडियोबारे चासो राखेका थिए । आफ्ना स्वकीय सचिव भानु देउवाको मोवाइलमा भिडियो पनि हेरे, तर कुनै प्रतिक्रिया नजनाएको बैठकमा सहभागी एक नेताले बताए ।