नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताका लागि अध्यक्ष केपी शर्मा ओलीलाई अन्तिम मौका रहेको बताएका छन् । साथै एकता हुन्छ कि हुन्न भन्ने ओली पक्षको भोलिको बैठकबाट प्रष्ट हुने बताए ।
शनिबार दोलखा काठमाडौं सम्पर्क मञ्चको भर्चुअल बैठकलाई भर्चुअल सम्बोधन गर्दै नेता नेपालले आफूहरु सम्मानजनक एकताकै पक्षमा रहेको बताए । एमालेलाई एकतावद्ध गर्न अध्यक्ष ओलीलाई अन्तिम मौका दिएको भन्दै उनले अघि भने, ‘उहाँले २४ गतेको कथित बैठक रोक्नुहुन्छ कि रोक्नु हुन्न ? पार्टी सदस्यता वितरणलाई रोक्नु हुन्छ कि रोक्नुहुन्न ? वडा तहसम्म अधिवेशन गर्ने काम रोक्नु हुन्छ कि रोक्न हुन्न ? गाली गलौजको गोलाबारुद बन्द हुन्छ कि हुँदैन ? त्यसबाट उहाँ के चाहनुहुन्छ भन्ने प्रष्ट हुन्छ ।’
वरिष्ठ नेता नेपालले ओली ओलीमा भएको व्यक्तिवाद र दक्षिणपन्थी विचलन नै अहिलेको समस्या भएको बताए । अहिलेसम्म आफूहरु सम्माजनक एकताकै पक्षमा रहेको, तर अनन्तकालसम्म वार्तामा बसेर नहुने उनले बताए ।
श्रीमान् र श्रीमतीबीच विवादमा त डिभार्स हुने भन्दै नेता नेपालले भने, ‘यदि केपी ओलीले भित्तामा पु¥याउन खोन्छन् भने हामी अर्को विकल्पका निम्ति तयार हुुनुपर्छ ।’
यद्यपि नयाँ पार्टी बनाउन हतार गर्न पनि जरुरी नभएको बताए । अब प्रदेशको संरुचना बनाए केन्द्रीय कमिटीको घोषणा मात्र बाँकी रहने नेता नेपालले बताए ।
नयाँ पार्टी बनाउँदा केही नेता कार्यकर्ता छुट्नसक्ने बताए । लालबाबु पण्डित, कृष्णभक्त पोखरेलहरुको नाम लिँदै उनले भने, ‘यस्ता मान्छेहरु भाग्छन्, टिक्ने टिक्छन्, ।’
हिजोको दिनमा जसरी पनि ओलीलाई प्रधानमन्त्रीबाट हटाऊँ भन्दा सबै एकमत भएको र महन्थ ठाकुर वा शेरबहादुर देउवालाई ल्याए पनि ल्याऊँ भनेर आफूलाई अघि बढ्न भनेको भन्दै उनले भने, अनि अहिले शेरबहादुर देउवा आएपछि टाउको दुःख्यो ?’
सम्बोधनका क्रममा उनले प्रधानमन्त्री देउवा, ओली भन्दा राम्रो भएको र संस्कार देखाएको बताए ।