काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहभित्रै असन्तुष्टि देखिन थालेको छ । एमालेले सोमबार गठन गरेको पार्टीका नौ केन्द्रीय विभागमा अध्यक्ष ओलीले गरेको नियुक्तिप्रति एमालेभित्रै असन्तुष्टि देखिएको हो ।
विभाग गठन र नियुक्तिमा समानुपातिक, समावेशी र योगदानका आधारमा नगरिएको भन्दै नेताहरुले असन्तुष्टि जनाएका हुन् । अध्यक्ष ओलीले एक्लैटी ढंगबाट विभागका सदस्यहरु नियुक्त गरेको र आफ्नै पक्षका नेतालाई स्थान दिएको नेताहरुको भनाइ छ ।
ओली आफन्त र जिल्लाबासीभन्दा टाढा जान नसकेको नेताहरुको गुनासो छ । गठन गरिएका नौ विभागमध्ये ३ वटा विभाग प्रमुखमा ओलीसहित तीनजना झापालीले नेतृत्व पाएका छन् ।
सोमबार सदस्य तोकिएका विभागहरूमा पार्टी स्कुल विभाग प्रमुखः केपी शर्मा ओली, सङ्गठन विभाग प्रमुखः विष्णुप्रसाद पौडेल, प्रचार विभाग प्रमुख प्रदीप ज्ञवाली, संसदीय विभाग प्रमुख सुवास नेम्वाङ, आर्थिक विभाग प्रमुख विष्णु रिमाल, पर्यटन प्रवद्र्धन विभाग प्रमुख भानुभक्त ढकाल, विदेश विभाग प्रमुख डा राजन भट्टराई, स्थानीय तह विभाग प्रमुख देवेन्द्र दाहाल र निर्वाचन विभाग प्रमुख अग्नि खरेल छन् ।
स्थानीय तह विभाग प्रमुख भएका देवेन्द्र ओलीलाई झापामा चुनाव जिताउने खटिएका थिए । झापाको गैरादहका खरेल निर्वाचन विभाग प्रमुख बनेका छन् । विभाग गठनमा पार्टी महासचिव समेत रहेका इश्वर पोखरेल समूहले असन्तुष्टि जनाएको हो ।
पार्टीमा माधव नेपाललाई कुनै पनि अधिकार दिन हुन्न भनेर खुलेयाम बोलेर ओलीको पक्षमा लागेका पोखरेललाई ओलीले बाइपास गर्न थालेका छन् । उनी मात्र होइन् उनको पुरै समूहलाई बाइपास गरेर जाने रणनीतिमा रहेका ओलीले पोखरेल निकटका नेताहरुलाई विभागमा समेट्न सकेनन् ।
महासचिवको जिम्मा संगठन विभाग हुने प्रलन रही आएको भएपनि सुटुक्क आफू निकट विष्णु पौडेलाई दिएपछि ओलीसँग पोखरेल रुष्ट बनेका छन् । सदस्यहरुमा पनि इश्वर पोखरेलका १/२ जना मात्र परेको एक नेताले बताए ।