शनिबार, साउन ३० २०८३
ताजा अपडेट

उत्साहित हुँदै ओली निवास पुगेका नेम्वाङ निरास भएर फर्किए


  • बिहिबार, साउन २१ २०७८
11.6K
SHARES

अध्यक्ष केपी शर्मा ओली र सुवास नेम्वाङ । तस्विरः फाइल

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच चाँडै भेटघाट गराउने उद्देश्यले उत्साहित हुँदै बालकोट पुगेका संसदीय दलका उपनेता सुवास नेम्वाङससिहतको टोली निरास भएर फर्किएको छ । दुई नेताबीच तत्काल भेटघाटको सम्भावना टरेपछि उनी निरास भएर घर फर्किएका हुन् ।

मङ्गलवार साँझ सुवास नेम्वाङसहित विष्णु पौडेल, भीम रावल र सुरेन्द्र पाण्डेले बालकोटस्थित ओलीलाई भेटेर नेपालसँग संवाद अघि बढाउन आग्रह गरेका थिए । तर ओलीले अहिलेसम्म तपाईँहरूले कुनै प्रगति गर्न नसकेको भन्दै झपारेपछि नेम्वाङले तपाईँकै अभिव्यक्तिले सबै चिज विग्रको हो भनेर ओलीलाई जवाफ फर्काएका थिए ।

नेम्वाङको जवाफपछि ओलीले तपाईँहरूले अहिलेसम्म कुनै प्रगति गर्नु भएको छैन तत्काल संवादको आवश्यकता छैन भन्दै झोक्किएका थिए । ‘ओली र नेम्वाङबीच एक छिन सवाल जवाफ नै चल्यो, नेम्वाङले बनिसकेको वातावरण अध्यक्षज्यूले नै बिगार्नु भएको हो भनेपछि ओली झोक्किएका थिए’, स्रोतले भन्यो । स्रोतका अनुसार नयाँ बजारमा ओलीले काठमाडौँ जिल्ला कमिटीको बैठकमा दिएको अभिव्यक्तिपछि ओली नेपालबिच संवाद गर्न असहज भएको नेम्वाङले बताएका थिए । तर ओलीले त्यो विषयलाई खासै महत्त्व नदिई नेम्वाङलाई झपारेका थिए । ‘खास गरी नेपालले अधिकारको कुरा उठाएको र यसमा समान धारणा बनाउनु पर्ने कुरा छ भनेपछि ओली झोक्किएका थिए’, स्रोतले भन्यो ।

ओलीसँगको भेटघाटपछि बुधवार दिउसो माधव नेपाललाई भेट्न पुगेका चार जना नेताहरूले ओलीसँगको भेटघाट खास उपलब्धिमूलक हुन नसकेको सुनाएका थिए । त्यसपछि नेपालले अझै परिपक्व बनाउन तपाईँहरू लाग्नुस् भनेका थिए । यो बीचमा दुवै तर्फका दोस्रो तहका नेताहरूले एकताका लागि सकारात्मक हुँदै पहल अघि बढाइरहे पनि दुई नेताबिच संवाद हुन नसक्दा एकता प्रयास बिचमै तुहिने हो कि भन्ने शङ्का बढेको छ ।

नेता नेपालले कानुनी हस्ताक्षर चल्ने गरी बराबरी अधिकार मागेका छन् । तर त्यो हस्ताक्षर भन्दा पनि नेपाल पक्षका नेताहरू भने दोस्रो अध्यक्ष बनाउनुपर्नेमा जोड गरिरहेका छन् । हस्ताक्षरको खास अर्थ नहुने भएकाले दोस्रो अध्यक्ष नै रहनुपर्ने नेपाल पक्षका नेताहरूको भनाई छ । तर माधव नेपालले भने दोस्रो बन्न मानेका छैनन् । उनले विधान बमोजिम नै अघि बढौँ भनिरहेका छन् ।

नेता नेपाललाई सत्ता गठबन्धनले पनि सरकारमा सहभागी हुन दबाब दिइरहेको छ । उनले पार्टी एकताको प्रक्रिया टुङ्गोमा पुगे सरकारमा सहभागी नहुने भने पनि आफ्नो निर्णयका लागि केही दिन कुर्न गठबन्धनका नेताहरूलाई आग्रह गरेका छन् । सत्ता गठबन्धनले ढिलोमा शुक्रवारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने जनाइसकेको छ।

पार्टी एकताका लागि दोस्रो तहका नेताहरूले प्रयास जारी राखेका छन् । दुवै नेताहरू तत्काल संवादमा बस्न राजी नभएपछि कार्यदलका सदस्यहरू निराश जस्तै भएका छन् । ‘हामीले आज नेता नेपाल र हिजो ओलीसँग छलफल गर्‍यौ। कुनै पनि निष्कर्ष निस्कन सकेन । दुई नेताहरू छलफलमा नबसेसम्म केही निष्कर्ष आउँदैन । उहाँहरूबिचको वार्ताका लागि अझै आधार तयार भएको छैन,’ विघटित कार्यदलका संयोजक रहेका नेम्वाङले भने ।

गत सातादेखि ओली र नेपालबीच संवाद हुने भनिए पनि हालसम्म भेट हुन सकेको छैन । यही क्रममा नेपाल समूले बिहीबार आफ्नो समूहको केन्द्रीय कमिटी बैठक बोलाएको छ । सो बैठकमा नेपालले केन्द्रीय सदस्यहरूको राय माग्ने छन् । तर एमाले संस्थापनले भने बिहीवारको बैठक अवैध भएको भन्दै त्यसमा सहभागी नहुन आग्रह गरेको छ । पार्टी केन्द्रीय कार्यालयको तर्फबाट जारी गरेको विज्ञप्तिमा सो आग्रह गरिएको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा