लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘बन्धक’ बनाएको बताएकी छन् ।
बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी सांसद वलीले आफूलाई १५ साउनदेखि २० गतेसम्म मुख्यमन्त्रीको निवासमा राखेको र एमालेमा फर्किएँ भनेर जबरजस्ती हस्ताक्षर गराएर १९ साउनको विज्ञप्ति जारी गराएको बताएकी हुन् ।
आफूले १९ वैशाखमै पत्रकार सम्मेलन गरेर माओवादी केन्द्र रोजेको जानकारी गराएको भन्दै उनले भनिन्, ‘म माओवादी केन्द्र हो, माओवादीमै रहन्छु ।
१५ साउनमा नेकपा एमाले प्रमुख सचेतक भूभिश्वर ढकाल र नेता मानबहादुर राउत तुलसीपुरस्थित आफ्नो घरमा पुगेको उनले बताएकी छन् । उनीहरुले एमालेमा आउन दबाव दिएको, तर आफूले यसअघि नै इन्कार गरेको बताइन् ।
आफू उपचारका लागि नेपालगञ्ज जान लागेको बताएपछि प्रमुख सचेतक ढकालले ‘हामी पनि नेपालगञ्ज जाने हो, सँगै जाऔं’ भनेको बताउँदै भनेकी छन्, ‘विश्वास गरेर गाडीमा बसें ।’
तुलसीपुरबाट अमिलिया आएपछि नेपालगञ्जतिर जानुपर्नेमा गाडी एक्कासी बुटवलतिर मोडेको भन्दै उनले भनिन्, ‘मैले यसो किन गर्नुभयो भनेर लगातार प्रतिवाद गरिरहें । उहाँहरुले एक पटक मुख्यमन्त्रीलाई भेट्नुपर्यो भनेर गाडी नरोकी एकैपटक मुख्यमन्त्री निवासमा पुर्याइयो ।’
मुख्यमन्त्री पोखरेलले पहिला गल्ती भयो, अब त्यस्तो हुँदैन । एमालेमा आउनुस्, मन्त्री बन्नुस् भनेर प्रलोभन देखाएको प्रदेशसभा सदस्य वलीले बताएकी छन् । उनले अघि भनिन्, ‘मैले निरन्तर इन्कार गरिरहें । साउन १६, १७ र १८ गतेसम्म मुख्यमन्त्री निवासबाट बाहिर निस्कनै नदिई दबाब दिइरह्यो ।’
मुख्यमन्त्री निवासमै जबरजस्ती विज्ञप्तिमा हस्ताक्षर गर्न लगाएको उनले बताएकी छन् ।