लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अवसरवाद, अस्थिरता र महत्वकांक्षाका कारण देशमा राजनीतिक संकट उत्पन्न भएको बताएका छन्।
नेकपा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका नेता पोखरेलले प्रचण्ड एउटै व्यक्तिमा पैदा भएको अवसरवाद, अस्थिरता र महत्वाकांक्षाका कारण देशको राजनितिमा संकट उत्पन्न भएको मात्र होईन एमालेभित्रको अन्तरविरोधलाई समेत मलजल गरेको पोखरेलको आरोप छ।
बुटवलमा ‘जिउँदा जीवराज’ नामक वृत्तचित्रको सार्वजनिक गर्दै मुख्यमन्त्री पोखरेलले पछिल्लो तीन/चार वर्षमा संघ, प्रदेश र स्थानीय सरकारका माध्यमबाट तयार गरिएका विकासका आधारशिला पुरा गर्नसके प्रचण्डबीनाको वामपन्थी एकता कायम गर्न सकिने बताए।
उनले अहिले पनि एमाले पहिलो शक्ति रहेको र भोलि पनि पहिलो शक्ति नै बन्ने दाबी गरे। ‘प्रचण्डको अवसरवाद, अस्थिरता र महत्वाकांक्षाले नै नेकपा विभाजन भयो र एमालेभित्रको अन्तरविरोधमा खेलेर एमाले फुटाउने काममा पनि प्रचण्ड लाग्नुभएको छ,’ उनले भने।
पोखरेलले अहिले एमाले पार्टीको आन्तरिक जीवन कठिन मोडमा रहेको उल्लेख गर्दै अहिलेको अवस्थामा आश्रीतको अभाव झनै खड्किएको बताए। ‘अहिले पार्टीभित्रको अनुशासन उलंघन गर्दै पार्टीलाई नै जुन हाकाहाकी चुनौती दिँदै हिड्ने काम भएको छ, आश्रीत हुनुभएको भए उनीहरूले माफी पाउने थिएनन् र अनुशासन उल्लंघन गर्ने आँट पनि गर्ने थिएनन्।