शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

झापामा फेरि निषेधाज्ञा, नाकामा कडाइ


  • आइतबार, साउन १७ २०७८
9.6K
SHARES

फाईल तस्बिर

कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि झापामा फेरि निषेधाज्ञा जारी भएको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आजदेखि सात दिनसम्म जिल्लामा निषेधाज्ञा जारी गरिएको जनाए । सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन पनि उनले आग्रह गरेका छन् ।

प्रदेश नं १ का १४ जिल्लामध्ये झापामा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्दो क्रममा रहेको जनाउँदै जिल्ला कोभिड–१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन समितिको निर्णयानुसार शनिबार राति १२ बजेदेखि साउन २३ गते १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको आदेशमा उल्लेख छ । झापाका १५ पालिकामध्ये १० वटा पालिका यसअघि नै स्थानीयस्तरमा सिल गरिएका थिए ।

निषेधाज्ञाबमोजिम आजदेखि पूर्वी सीमानाका काँकडभिट्टाबाट विदेशी नागरिकको प्रवेशमा रोक लगाइएको छ । काँकडभिट्टाबाहेक अन्य नाका तथा गौँडाबाट सबैलाई प्रवेश निषेध गरिएको आदेशमा उल्लेख छ ।

काँकडभिट्टाबाट प्रवेश गर्ने नेपाली नागरिकको अभिलेख राखिने, नाकामै एन्टिजेन विधिबाट कोरोना परीक्षणको व्यवस्था मिलाउने, कोरोना पोजेटिभ देखिएमा नजिकको आइसोलेशन केन्द्र वा मेची अस्पतालमा लगेर उपचार गराउने, नेगेटिभ देखिएमा आवश्यक समन्वय गरी निजको गन्तव्यमा पठाउने व्यवस्था मिलाइने प्रजिअ तिम्सिनाले बताए ।

निषेधाज्ञा अवधिमा सबै प्रकारका सभा, सम्मेलन, जुलुस, गोष्ठी, तालिम, सेमिनारजस्ता कार्यसञ्चालन गर्न नपाइने, जिल्लाबाहिर अनिवार्य जानैपर्ने भएमा सवारी पास लिनुपर्ने, उद्योग तथा कलकारखाना सञ्चालन गर्दा सकेसम्म थोरै जनशक्ति प्रयोग गर्ने र त्यस्तो जनशक्तिलाई खान र बस्ने सुविधा उद्योग परिसरभित्रै मिलाउनुपर्ने निषेधाज्ञामा उल्लेख गरिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा