दुई अध्यक्षको अन्तरिम व्यवस्था गरेर भए पनि एमालेको एकता कायमै राख्ने दोस्रो तहका नेताहरूको प्रयास लगभग असफल भएको छ ।
केपी ओली र माधव नेपालबीच वार्ता गराउन निरन्तर लागेका नेताहरूले यस्तो निष्कर्ष सुनाएका छन् ।
अध्यक्ष ओलीले स्थायी कमिटी बैठक बोलाएपछि त्यसअघि एकताको उपाय खोज्न विघटित कार्यदलका नेताहरू अनौपचारिक छलफलमा जुटेका थिए । १० बुँदे सहमति र दुई अध्यक्ष मानेर एमाले एकता कायम गर्नेबारे छलफल भएको एमाले सचिव गोकर्ण विष्टले बताए ।
तर, विष्टले बताए जस्तो ब्रिफिङ अनौपचारिक छलफलमा भने भएन । विघटित कार्यदलका एक सदस्यका अनुसार माधव नेपालले दश बुँदेमा आफ्नो सहमति नरहेको प्रष्ट पारेका छन् । उनले यो कुरा आफू पक्षधर वार्ता टोली संयोजक भीम रावल र केपी ओली पक्षधर संयोजक सुवास नेम्वाङ र विष्णु पौडेललाई प्रष्ट रुपमा बताएका छन् ।
‘माधव कमरेडले दश बुँदे सहमति मैले भने अनुसार छैन त्यसलाई म मान्दिन भन्नुभयो । उहाँले म मिल्न तयार छु र अलग हुन पनि तयार छु । मिल्ने हो भने केपी ओलीले अध्यक्ष छाड्नुपर्छ भन्नुभयो । यो भनेको लगभग माधव नेपालसहितको एकताको च्याप्टर क्लोज हो’ छलफलमा सहभागी एक नेताले बताए ।
अनौपचारिक छलफलमा ओली पक्षका नेताहरूले माधव नेपालको बटमलाइन आइसकेको भन्दै ‘अब तपाई हामी के गर्ने हो ?’ भन्ने प्रश्न गरेका छन् । नेपाल पक्षका नेताहरूले अझै जवाफ दिएका छैनन् । उनीहरू दुई अध्यक्षमा माधव नेपाललाई मनाउन सकिन्छ भन्नेमा अझै लागेकाले एमालेको वारपार हुन एक दुई दिन थप लाग्ने देखिएको छ ।
यसबीचमा केपी ओलीले भीम रावललाई बोलाएर माधव नेपाललाई दोस्रो अध्यक्ष दिन तयार रहेको भन्दै चाँडो टुंगो लगाउन आग्रह गरे । ओलीसँग भेटेपछि रावलले नेपाललाई भेटेर अर्को अध्यक्षमा सहमत हुन आग्रह गरे पनि नेपालले उल्टै रावलमाथि ओलीसँग मिलेमतो गरेको आरोप लगाएको चर्चा चलेको छ ।
नेपाललाई यसबीचमा सुवास नेम्वाङ र विष्णु पौडेलले पनि भेट गरेर अध्यक्ष ओलीसँग संवाद गर्न सुझाए । तर दुवै नेतालाई वरिष्ठ नेता नेपालले आफू ओलीलाई अध्यक्ष मानेर एमालेमा नफर्किने बताएका छन् । उनले अर्को अध्यक्ष पनि आफू नबन्ने प्रष्ट पारेका छन् । यहि कुरा उनले रावललाई पनि बताइसकेका थिए ।
रावलले माधव नेपालको बटमलाइन बुझे पनि नेपाल पक्षकै कतिपय नेताले अझै पनि अर्को अध्यक्षमा मनाउन सकिने आशा राखेका कारण एमाले एकताको नामका वार्ता अझै केही दिन चल्ने सम्भावना छ । ओली पक्षले भने माधव नेपालसहितको एकताको सम्भावना देखेको छैन ।