शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

चीनबाट थप ६० लाख डोज खोप आउँदै


  • शुक्रबार, साउन १५ २०७८
12.4K
SHARES

काठमाडौं – चीनबाट थप ६० लाख डोज कोरोना भाइरसको खोप आउने भएको छ । सरकारले चिनियाँ कम्पनी सिनोफार्मबाट थप ६० लाख डोज कोरोना खोप खरिद गरेर ल्याउने भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै सिनोफार्म कम्पनीसँग ६० लाख डोज खोप खरिदको सम्झौता अगाडि बढिसकेको जनाएका हुन् । यस्तै कोभ्याक्स सुविधामार्फत चीनले अनुदालनमा उपलब्ध गराउने १६ लाख डोज खोप असोज मसान्त भित्र उपलब्ध हुने विज्ञप्तिमा उल्लेख छ ।

यस्तै भारतसँग खरिद सम्झौता भएको कोभिशिल्डको १० लाख डोज खोप पनि असोज मसान्तभित्र नै प्राप्त हुनेछ । असोज मसान्तभित्रमा कुल १ करोड ८३ लाख ८२ हजार ८५० डोज खोप प्राप्त हुने विश्वास मन्त्रालय गरेको छ ।

प्रवक्ता डा. पौडेलले कोभ्याक्सबाट लागत सहभागितामा खरिद गरी १ करोड ५० लाख र १२ वर्षमाथिका बालबालिकालाई फाइजरको ६० लाख डोज खोप ल्याउने प्रक्रिया अगाडि बढेको बताए । मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘१२ वर्षमाथिका बालबालिकाका लागि ६० लाख डोज फाइजर खोप ल्याउने प्रक्रिया सकारात्मक ढंगले अगाडि बढेको छ ।’

कोभ्याक्सबाट निशुल्क २० प्रतिशत जनसंख्याका लागि प्राप्त हुने १ करोड १३ लाख डोज खोप पनि क्रमशः प्राप्त हुँदै जाँदा आगामी चैत मसान्तसम्म सबै नेपाली नागरिक पूर्ण खोपको पहुँचमा पुग्ने विश्वास सरकारले गरेको छ ।

खोप आयात गर्न इच्छुक निजी क्षेत्रलाई विश्व स्वास्थ्य संगठन र औषधि व्यवस्था विभागबाट आकस्मिक प्रयोग अनुमति प्राप्त कुनै पनि खोपहरु उत्पादन मूल्य र आयात खर्चमा अधिक्त्तम १० प्रतिशतसम्म मुनाफा लिएर सरकारले तोकेको प्राथमिकताको समूहलाई लगाउन मिल्ने गरी स्वीकृति प्रदान गरिसकेको जानकारी समेत गराएको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म ९७ लाख ८२ हजार ८५० डोज खोप प्राप्त भइसकेको छ । जसमध्ये चीनबाट अनुदानमा १८ लाख र खरिद सम्झौता भएका ४० लाख डोजसहित कुल ५८ लाख डोज भेरोसेल खोप प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

यस्तै भारतबाट खरिद सम्झौता भएका १० लाख, अनुदानबाट ११ लाख, कोभ्याक्ससुविधानमार्फत ३ लाख ४८ हजार गरी कुल २४ लाख ४८ हजार डोज कोभिशिल्ड खोप प्राप्त भइसकेको छ । यस्तै अमेरिकाबाट अनुदानमा जोनसन एण्ड जोनसनको १५ लाख ३४ हजार ८५० डोज खोप प्राप्त भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा