काठमाडौँ – आफूलाई मन्त्री नबनाएपछि गगन थापा प्रधानमन्त्री शेर बहादुर देउवासँग फायर भएका छन् । नेपाली कांग्रेसका नेता थापाले पार्टी सभापति समेत रहेका देउवासँग फायर भएका हुन् ।
उनले संसद सरकारसँग डराउने होइन, सरकार यो संसदसँग डराउनुपर्छ भन्दै देउवासँग आगो भएका हुन् । अघिल्लो सरकारले संसदलाई हेप्ने देखि लिएर अदालतालाई हप्काउने सम्मको परिचय बनाएर गएको भन्दै यो सरकारलाई त्यस्तो गर्ने छुट कुनै हालतमा नभएको बताएका छन ।
‘संसदलाई हेप्ने, अदालतलाई हप्काउने, न विधि मान्ने, न विज्ञानलाई पत्याउने, स्थानीय र प्रदेश सरकारलाई पंगु बनाउने, जनताको दुहाइ दिने तर आसेपासेलाई पोस्ने, बाहिर सिंहजस्तो गर्जिने, भित्र लम्पसार पर्ने,’ प्रतिनिधिसभाको मंगलबारको बैठकमा थापाले भने, ‘यस्तै–यस्तै परिचय बनाएर बालुवाटारबाट बालकोटको बार्दली पुगेको छ, अघिल्लो सरकार ।’
उनले नयाँ सरकारलाई यस्तो गर्न नदिने बताए । गगनले भने, ‘नयाँ सरकारलाई कुनै पनि अपराध गर्न छुट छैन् । यस्तो हुन नदिन संसदले पनि संकल्प गर्नुपर्ने छ । न त यो संसदलाई बेवास्ता गर्न दिइने छ। न त कामविहीन बनाउन दिइनेछ, न त छल्न ।’
अहिलेको सरकार संसदसँग डराउनुपर्ने भन्दै थापाले भने, ‘यो संसद सरकारसँग डराउने होइन, सरकार यो संसदसँग डराउनुपर्छ,’ उनले भने, ‘संसदको प्रश्नसँग, संसदको निगरानीसँग डराउनुपर्ने छ । परीक्षा प्रधानमन्त्रीको मात्रै होइन, सभामुखको पनि छ । यो संसद जोगाउन लाग्ने हामी प्रत्येक सांसदको पनि छ ।