नेकपा माओवादी केन्द्रका पूर्वनेता टोपबहादुर रायमाझीले आफू नेकपा एमालेमा प्रवेश नगरेको दाबी गरेका छन् । बुधबार सर्वोच्च अदालतमा सांसद पद कायम राखिदिन भन्दै दायर गरेको रिटमा रायमाझीले आफू एमालेमा प्रवेश नगरेको दाबी गरेका हुन् ।
नेकपा माओवादी केन्द्र छाडी नेकपा एमालेको केपी ओली नेतृत्वमा जाने निर्णय गरेपछि माओवादी केन्द्रले रायमाझीलाई कारबाही गरेको थियो । सांसद पद र पार्टीको सदस्यबाटै निष्कासित गरेपछि सो को जानकारी संसद् सचिवालयलाई दिइएको थियो । माओवादी केन्द्रबाट निर्वाचित सांसद पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि संसद् सचिवालयले रायमाझीलाई गएको चैत २६ गते सांसद पदबाटसमेत हटाएको थियो ।
सांसद पदबाट हटाएको करिब ४ महिनापछि गुहार माग्दै सर्वोच्च पुगेका रायमाझीले आफू नेकपा एमालेमा प्रवेश नगरेको दाबी गरेका हुन् । उनले दायर गरेको रिटको मुद्दाको संक्षिप्त खण्डको ख मा केपी ओलीले नेतृत्व गरेको नेकपा एमालेमा आजसम्म औपचारिक रूपमा प्रवेश नगरेको र पार्टीको सदस्यता नलिएको बताएका छन् । हालसम्म पनि आफू माओवादी केन्द्रकै नेता रहेको रायमाझीको दाबी छ ।
स्मरणीय छ, नेपाल कम्युनिस्ट पार्टी नेकपा टुक्राउने अदालतको निर्णयपछि माओवादी केन्द्रका नेताहरू रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा लगायतका नेताहरूले आफूहरू ओली नेतृत्वको नेकपामा गएको घोषणा गरेका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।