राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयको बुधबार बिहान उदघाटन गरेकी छन् । बिहान हेलीकप्टर चढेर सिन्धुलीमाडी पुगेकी भण्डारीले रिबन काटेर युद्ध संग्रहालयको उद्घाटन गरेकी हुन् ।
युद्ध संग्रहालय कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाले निर्माण गरेको हो ।
सिन्धुलीगढी युद्ध सङ्ग्रहालय भवनको निर्माण काम न्यू ड्रागन/सिद्धगढी जेभी कोटेश्वरले गरेको थियो । भवनको डिजाइन आर्किटेक्निक डेभलपमेन्टले गरेको हो । यस्तै भित्री सजावटको काम अल्टरनेट इन्फ्रास्ट्रक्चर प्रालि धुलिखेलले गरेको छ ।
सङ्ग्रहालयमा युद्धकालीन अवस्थाका पात्र, सिन्धुलीगढी युद्धका घटनाक्रम, सैनिकका आँखामा युद्धको परिदृश्य, सिन्धुलीगढी युद्धका वृत्तचित्र, चरणबद्ध युद्धका चित्र, तत्कालीन युद्धमा प्रयोग भएका घरेलु हतियार, युद्धकालीन हातहतियार, अङ्ग्रेजहरुले प्रयोग गरेका तोप, नेपाली योद्धा, बेलायती योद्धा, नेपाली योद्धाका कलाचित्र, मिथिला कला, बेलायतीहरुको नाममा बनाइएका स्तम्भ, युद्धकालीन शिलालेख, ऐतिहासिक दस्तावेज तथा इतिहासका पुस्तकालय राखिएको छ ।
सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको विसं २०७३ कात्तिक २४ गते शिलान्यास गरिएको थियो ।