शुक्रबार, असोज ८ २०७८
ताजा अपडेट

कसले भन्यो परिबर्तन संभब छैन भनेर ? परिवर्तन सम्भव छ त्यो पनि हाम्रै पालामा

इच्छाशक्ति,सहनशीलता,सरलता, दया, सत्य र दायित्वलाई मेरा नेताले पालन गर्ने हो भने परिवर्तन हाम्रै पालामा देख्न पाउँछौ


  • रवि भट्टराई
  • मंगलबार, साउन १२ २०७८
8.1K
SHARES

लेखक /रबि भट्टराई

अनायासै आज मलाई लेख्न मन छ,खै के लेखौँ,जीवन लेखौँ या जगत लेखौँ,ज्ञान लेखौँ या विज्ञान लेखौँ ,जन्म लेखौँ या मरण लेखौँ , पुस्तकहरू धेरै छन् ,विषय बस्तुहरू पनि कयौँ छन् ,भाषाहरू बहुत छन् ,समय थोरै छ ,बाधा व्यवधान हरू धेरै छन् तर परिवर्तन कसैले रोकेर रोकिन्न, छेकेर छेकिन्न । जो हिजो देखियो आज हुँदैन,जो आज देखिन्छ भोलि हुँदैन त्यसैले राजनीति जतिसुकै अस्थिर होस तर ढिलो चाँडो परिवर्तन सम्भव छ र यो भएरै छाड्छ ।त्यो पनि हाम्रै पालामा ।

कुरो धेरै वर्ष अगाडिको हैन, धेरै भए १५ वर्ष अगाडिको होला,किनभने म काठमाडौँ पसेको लगभग सोर सर्त वर्ष जति भयो होला । म जुन गाउँमा जन्मिए पूर्वी पहाडी जिल्ला भोजपुर, त्यो गाउँमा न बत्तिनै थियो नत सडकबाटौनै थियो, टेलिफोन त झन् कल्पना बाहिरको कुरा हुन आउँथ्यो, म ५ या ६ कक्षमा पढ्दै गर्दा हुनुपर्छ सडकको नाप जाँच गर्ने टोली आयो रे भनेको हल्ला मात्र सुनिन्थ्यो मेरो कल्पनामा सडक आउला भन्ने त थिदै थिएन । अथवा यहाँ पनि सडक आउँछ अनि गाडी गुड्छन् भन्ने त कल्पना बाहिरको कुरा थियो त्यसमाथि तत्कालीन माओवादी र सरकार पक्षीय लडाइँले गाउँ शिथिल थियो, नभन्दै सडक खनिने भएछ, गाउँमै रोजगारी सिर्जना गर्ने गरी गाउँ कै जनताले अत्याधुनिक स्काभेटर हरुले हैन कि, गाउँकै कुटो कोदालो झम्पल जस्ता साधनले सडक खनिने भयो ।

खनिँदै गर्दा कतिले भन्ने गर्थे त्यस्तो पहाड खोस्रिएर गाडी कहिले आउला ? यत्रा भिरहरू मान्छेले कसरी फोड्लान् तर त्यस्ता भिरहरू पनि मान्छेले फोडे धनकुटाबाट भोजपुर सडक जोडियो केही वर्षको अन्तरालमा । जुन कुरा म आफैलाई असम्भव जस्तो लाग्थ्यो त्यो सम्भव भयो मेरै आखाले त्यो परिवर्तन देख्यो ।

अहिले त त्यो सडक कच्ची हैन पक्की भएको छ । गाडी गुडेका छन् । जनताले परिवर्तन महसुस गरेका छन् । म आफै उदाहरण हुँ मट्टितेल हालेर कुप्पिको उज्यालोमा अक्षर चिन्ने र एसएलसि सम्म नै मैले टुकीको उज्यालोमा धुवा खादै पढेको हु  ।

मैले एसएलसि उत्तीर्ण गरेको धेरै समय नै भएको छैन । म आफै हुँ एसएलसि उत्तीर्ण भएर भोजपुर देखि २ दीन लाएर, बाटोमा बास बसेर खुट्टा दुखाउँदै, धनकुटा हिले सम्म हिँडेर बस चढेर काठमाडौँ छिरेको । तर अहिले त्यो अवस्था रहेन । घर घरको छानामा डिस होम छन् बत्ती छ, अहिले त्यही गाउँका माध्यमिक स्कुलमा पड्नेहरूका हातमा मोबाइल फोनहरू छन् । आखिर केही वर्षकै अन्तरालमा विभिन्न बाधा अड्चन हुँदाहुँदै पनि परिवर्तन भयो अब यसलाई के भन्ने ?

तत्कालीन अवस्था त्याहाको वर्णन गर्ने हो भने न त्यहाँ राज्यको उपस्थिति थियो न त पार्टीगत नेताहरू हिँड्ने अवस्था थियो माओवादी युद्धको चरम उत्कर्षमा त्यहाँ बाटो खनिँदै थियो ।  कहिले रोकिन्थ्यो कहिले वार्ता मिल्थ्यो अनि फेरि खन्न सुरु हुन्थ्यो ।

त्यसैले परिवर्तन नछेकिने रहेछ छेक्न खोजिने मात्र रहेछ तर एक दिन परिवर्तनले बाटो आफै बनाउँदो रहेछ यो मैले आफै देखेको उदाहरण हो ।

अर्को उदाहरण काठमाडौँ को ,म अहिले जुन ठाउँमा बस्छु का म पा बाडानम्वर ७ कुमारिगाल यो ठाउँमा बसेको लामै समय भएछ । किनभने मैले एसएलसी दिएर पढ्ने क्रममा यहाँ डेरा लिएर बसेको हुँ ।

म आउँदा त यो ठाउँ भरिई सकेको थियो । पुरै सहर भैसकेको थियो ।  तर लगभग ४५ को हाराहारी हुनुभएको यहीको स्थानीय शिक्षित अङ्कल ले मलाई भन्नु हुन्छ भई ५० साल सम्म त यो एरिया पुरै खेत थियो । औलामा गन्न सक्ने घर हरु मात्र थिए । बाटो पनि धुले थियो । जुन ठाउँमा हामी बसेर चिया पिउँदै छौँ,यो त खहरे थियो,पानी बग्थ्यो ।  यहाँ चाहिँ अग्लो कान्लो थियो ।  कहाँ यस्तो पिच बाटो हुनु नि, यो गोरेटोमा एक्लै हिँड्दा भूत निस्किन्छ भन्ने गर्थे।

मोबाइल थिएन,यो मोटरसाइकलको कल्पना नै थिएन मैले ४२ सालमा एसएलसी पास गरेपछि म त्यो भन्दा माथि पड्छु मास्टर्स गर्छु भन्ने पनि कल्पना हुन्न थियो । यति सम्मकी काठमाडौँ मा असन मात्र सहर थियो, हामीलाई बाहुनको छोरो भन्ने चिनेर मम पसलेले मम दिँदैन थियो ।  भनेपछि कति परिवर्तन भएको छ त ?

मलाई जीवनमा बाइक चढ्छु भन्ने नै थिएन ।  फेरि बाईकनै कल्पना नभएपछि गाडी चढ्छु भन्ने त कुरै भएन ।  तर यो बिस बाइस बर्सकै अन्तरालमा यतिका परिवर्तन भएको छ कि,हरेक घरमा बाइक गाडी छन् ।

उहिलेको खहरे पिच रोड भएको छ । कौडीको भाउ नपाउने जग्गा करडौको भएको छ । भूत हिँड्ने खहरे को किनारमा बसेर हामी चिया पिउँदै छौ । कुर्नु मात्र पर्ने रहेछ भाई परिवर्तन छेकेर छेकिन्न ।

केही वर्षको अन्तरालमा जुन धुले सडक भन्दै छौ नि, याहाँ भ्याक्युम लाग्छन् बिहानै ओछ्यानबाटै सडकमा लागेका भ्यकुमको आवाजले निर्दा खुल्ने समय आउँछ । हाम्रै आँखा ले देख्ने मौका आउने छ भनेर मलाई अङ्कलले भनिरहँदा मलाई अचम्म लग्यो किनकि मैले देखेको यो ठाउँ र म भन्दा अग्रज अङ्कले देखेको यो ठाउँ कति अन्तर थियो कि म कल्पना सम्म गर्न सक्दिन थिए । त्यसैले परिवर्तनलाई कसैले छेक्न सक्दैन छेक्न खोज्ने मात्र हुन तर परिवर्तनले आफै बाटो बनाउँछ ।

मैले माथि जुन उदाहरण देखाउन खोजे यी प्रतिनिधि उदाहरण मात्र हुन । ५० साल भन्दा अगाडि जुन शासन पद्धति थियो त्यसको व्याख्या गर्न अहिले चाहन्न तर दश बर्से जुन माओवादी र सरकारको लडाई जसरी भयो यसको प्रभाव ग्रामीण भेगमा अझ जर्जर स्थिति सिर्जना गर्‍यो।

माओवादी आन्दोलन समयको माग थियो कि नियोजित थियो त्यो त समय लेनै पुस्टी गर्दै जाला । केही घाटा केही फाइदा भएका होलान् । तर परिवर्तन या भनौँ विकास त्यस्तो अवस्थामा पनि थिदै थिएन भन्ने हैन कि सुस्त थियो । अति नै सुस्त थियो लगभग शून्यकै हाराहारीमा थियो । तर परिवर्तन अस्तित्वमा थियो ।

त्यसैले त्यो समय र यो समय फरक छ अब परिवर्तन सम्भव छ विकास सम्भव छ ढिलो चाँडो हुनसक्छ तर रोकेर रोकिन्न छेकेर छेकिन्न । ,इच्छाशक्ति,सहनशीलता,सरलता, दया, सत्य र दायित्वलाई मेरा नेताले पालन गर्ने हो भने परिवर्तन हाम्रै पालामा देख्न पाउँछौ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा