शुक्रबार, असोज ८ २०७८
ताजा अपडेट

करोडौँको गाडी चोर्दै बेच्ने नेपाली सेनाका जवान पक्राउ, चोर्ने तरिका पनि अनौठो


  • KTM Khabar
  • आइतबार, साउन १० २०७८
114.6K
SHARES

काठमाडौँ – करोडौँका सवारी साधन चोरी गर्ने नेपाली सेनाका जवानसहित दुई जना पक्राउ परेका छन् । भारतमा चोरी गरेर भन्सार छल्दै काठमाडौं आइपुग्ने गाडी र मोटरसाइकल बेच्न नेपाली सेनाका जवानसहित दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा नेपाली सेनाका जवान कृष्ण रोकाया उर्फ किसन र अर्जुन कठायत रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ । नेपाली सेनाका जवान रोकाया र कञ्चनपुर घर भएका कठायतले चोरीका गाडीको नक्कली ब्लुवुक र नम्बर प्लेट राखेर बेच्ने गरेको महाशाखाका प्रमुख (एसएसपी) चन्द्रकुवेर खापुङ्गले बताए ।

महाशाखाबाट खटिएको टोलीले रोकाया र कठायतले बेच्ने तयारी गरिरहेको अवस्थामा प्रदेश–३–७६२३ नम्बरको हुण्डाई कम्पनीको सेन्ट्रो कार बरामद गरेको छ । सैनिक जवान रोकाया कञ्चनपुरस्थित वाडीका हुन् । महाशाखाले सेन्ट्रो कारसँगै भारतबाट चोरी गरेर ल्याएका दुईवटा बुलेट र एउटा केटिएम ड्युक मोटरसाईकल बरामद गरेको छ ।

भारतबाट कैलालीको गौरीफन्टा नाका हुँदै ती मोटरसाइकल र गाडी काठमाडौं ल्याइएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । असार १४ मा प्रहरीले भारतबाट चोरेर ल्याएका दुईवटा क्रेटा गाडी र नक्कली ब्लुबुकसहित ३ जनालाई पक्राउ गरेको थियो । मोरङ घर भएका रेवतीरमण निरौला, मधुसुदन पाण्डे र कमलबावु पुरी भन्ने कमलबावु भट्टलाई पक्राउ गरेर प्रहरीले ५ बोरा नक्कली कागजात बरामद गरेको थियो ।

‘कमलबावु भट्टको समुह र अहिले पक्राउ परेकाहरुको बीचमा अन्तरसम्बन्ध देखिएको छ’ एसएसपी खापुङले भने– ‘चोरेर ल्याएका गाडी किनबेच गर्ने सो समूहबारे हामी अनुसन्धान गरिरहेका छौं ।’ भारतबाट गाडी तथा मोटरसाइकल चोर्न र काठमाडौंमा बेच्नका लागि ३ वटा समूह सक्रिय रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

भारतमा चोर्ने समूहले चोरेर कैलालीको गौरीफन्टा नाका सम्म ल्याइदिन्छन् । कैलालीमा अर्को समूह छ । सो समूहले काठमाडौंसम्म ल्याउँछन् । काठमाडौंमा नक्कली कागजात बनाउने र बेच्ने काममा कमलबावु भट्ट र सैनिक जवान रोकाया सहितको समूह सक्रिय रहेको अनुसन्धानमा संलग्न महाशाखाका डिएसपी गंगा पौडेलले बताए । चोरीका गाडी बेच्ने समूहले हुण्डाई कम्पनीको क्रेटा गाडी २० देखि ३० लाख र बुलेट मोटरसाइकल २ लाख ३० हजारमा बेच्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

चोरीका गाडीमा अञ्चलीकरण भएर खालीरहेका नम्बर राखेर नक्कली कागजात तयार गरेको भेटिएको छ । खाली रहेको नम्बरको सूचना यातायात ब्यवस्था विभागका कर्मचारीबाट चुहिएको हुनसक्ने बताइएको छ । त्यसबारे पनि महाशाखाले अनुसन्धान शुरु गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा