नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आममाफी दिने पार्टी अध्यक्ष केपी शर्मा ओलीको घोषणालाई श्री ५ को हुकुमको संज्ञा दिएका छन् ।
शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा नेता नेपालले भने, ‘हिजो महामहिम श्री ५ बडामहाराजधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाल लगायतका माननीय सदस्यहरुमाथि जति पनि स्पष्टीकरण सोधिएका छन्, उनीहरुलाई आममाफी दिइन्छ । एम्नेस्टी इज ग्रान्टेड । हामी गदगद् भयौं !’
महाराजधिराज खुशी हुनु भएको छ । हामीलाई आममाफी मिलेछ । नाच्नु पर्ने भयो, खुशी हुनुपर्ने भयो । यही हो पद्धति ? यसलाई कम्युनिष्ट पद्धति भनिन्छ ?’ उनले भने ।
आफूहरुलाई स्पष्टीकरण सोध्नु गल्ती भएको अध्यक्ष ओलीले स्वीकार गर्नुपर्ने नेता नेपालले बताएका छन् । उनले अघि भनेका छन्, ‘स्पष्टीकरण सोध्नु गल्ती भयो, मैले हतार गरें । अब फिर्ता लिएको छु भनिदिएको भए हाइट घट्थ्यो ?’
ओलीतर्फ संकेत गर्दै बादशाहलाई घोडाबाट झारे पनि अहंकार कम नभएको उनले बताए । नेताहरुले एकतामा असर पर्ने केही नबोल्न आग्रह गरेको र आफूले पनि ओली सुध्रिएलान कि भनेर आफू जोगिएर बोल्ने गरेको नेता नेपालले सुनाए ।
एमाले वरिष्ठ नेता नेपालले ३ साउनमा प्रतिनिधिसभा विघटन गर्ने अर्को षड्यन्त्र असफल पारेको बताएका छन् ।
अध्यक्ष ओलीतर्फ संकेत गर्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई कुनै पनि हालतमा विश्वासको मत पुग्न नदिने र ‘संसद विघटन गर्ने मेरो कदम ठीक थियो, म दूरदर्शी नेता हुँ’ भन्ने खोजेको उनले बताए । तर आफूहरुले त्यसलाई असफल पारेको भन्दै नेता नेपालले भने, ‘संसदलाई जोगाएका छौं, संविधानको रक्षा गरेका छौं, स्वतन्त्र न्यायपालिकाको सम्मान गरेको छौं, जायज काम गरेका छौं ।