सोमबार, कार्तिक १० २०८३
ताजा अपडेट

ह्याकरको धम्कीपछि राष्ट्र बैंकको स्पष्टीकरण : सबै बैंकको प्रणाली सुरक्षित छ


  • बिहिबार, साउन ७ २०७८
12K
SHARES

फाईल तस्बिर

नेपाल राष्ट्र बैंकले आफ्नो र नेपालका सबै बैंकहरुको प्रणाली सुरक्षित रहेको स्पष्ट पारेको छ । अपरिचित व्यक्तिबाट फोन र इमेलमार्फत प्रणाली ह्याक गर्ने धम्की दिएपछि राष्ट्र बैंकले यस्तो स्पष्टीकरण दिएको हो ।

राष्ट्र बैंक र नेपालका बैंकहरुको प्रणाली सुरक्षित रहेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए । ‘अपरिचत व्यक्तिबाट फोन र इमेल आयो, त्यसपछि हामीले आफ्नो र सबै बैंकको प्रणाली परीक्षण गर्यौं, सबै ठिक पाएका छौं,’ गभर्नर अधिकारीले भने ।

बैंकले प्रयोग गर्ने फायर वालहरु सुरक्षित र ठिक अवस्थामै पाएको र अन्य बैंकहरुले पनि आफ्नो प्रणाली सुरक्षित रहेको जानकारी केन्द्रीय बैंकलाई गराएको गभर्नर अधिकारीले बताए । यस्ता धम्कीहरुबाट सचेत रहनुपर्ने भन्दै गभर्नर अधिकारीले यसबाट बिचलित नहुन आग्रह गरे ।

नेपाल राष्ट्र बैंकसहित चल्तिका १४ वाणिज्य बैंकको प्रणाली ह्याक गरेर पैसा चोर्ने भन्दै बुधबार बेलुकी धम्की आएको थियो । अपरिचत व्यक्तिबाट फोन र इमेलबाट राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल र सूचना अधिकारी नारायण प्रसाद पोख्रेललाई धम्की आएको राष्ट्र बैंकले जनाएको छ ।

बुधबार साँझ अपरिचत व्यक्तिबाट ह्याक गर्ने धम्कीसहित जिमेलमा इमेल आएको नबिल बैंकका कार्यकारी निर्देशक अनिल केशरी शाहले पनि बताए । ‘मलाई बुधबार साँझ जिमेलमा एउटा इमेल आयो, उक्त इमेलमा नेपालका १५ बैंकहरु ह्याक गर्ने धम्की उल्लेख छ,’ प्रमुख कार्यकारी निर्देशक शाहले भने । उस्तै व्यहोराको इमेल नेपाल राष्ट्र बैंकका अधिकारीलाई पनि आएको जानकारी आफूले पाएको शाहले बताए ।

अपरिचित इमेलबाट आएको धम्कीपछि बैंकको प्राविधिक पक्षको रिभ्यू गरिरहेको र हालसम्म कुनै समस्या नोटिस नभएको शाहले बताए । धम्कीबारे नियमक र सम्बन्धित सबैलाई जानकारी गराइएको भन्दै शाहले चोरले पहिल्यै घोषणा गरेर चोरी नगर्ने भन्दै सचेत भने हुनुपर्ने बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा