पटक–पटकको आग्रहमा पनि आफ्ना माग पूरा नगरेको भन्दै गोर्खाहरूले बेलायतमा रिले अनशन शुरु गरेका छन् ।
गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिको नेतृत्वमा बुधबार दिउँसो १ बजेदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि टेन डाउनिङ स्ट्रिटमा अनशन थालिएको छ ।
बेलायत सरकार र नेपाल सरकारलाई पटक–पटक आफ्ना मागको सुनुवाइका लागि विभिन्न चरणमा र विभिन्न माध्यमबाट आग्रह गर्दा पनि सुनुवाइ नभएपछि बाध्यात्मक परिस्थितिले अनशन बस्न परेको अभियानकर्मी ज्ञानराज राईले बताए । बुधबारदेखि १३ दिनसम्म लगातार अनशन बस्ने र हरेक दिन एक-एक जना अनशन बस्ने योजना रहेको राईले बताए ।
सत्याग्रह समितिका प्रमुख कृष्णबहादुर राईका अनुसार यो १३ दिनभित्र बेलायती सरकारले वार्ताका लागि कुनै पहल गरेन भने त्यसपछि भोक हड्तालमा बस्ने योजना रहेको छ ।
गत महिना गोर्खाहरूका मागसँग सरोकार राख्ने पाँचवटा संस्था र गैरआवसीय नेपाली सङ्घ युकेलगायतले नेपाल सरकार र बेलायत सरकार दुवैलाई पत्र पठाएका थिए । पत्रमा भूपू गोर्खाहरूको समान पेन्सनलगायतका माग राखेर वार्ताका लागि आग्रह गरिएको थियो । यो पटक १३ बुँदे मागसहित आन्दोलनमा रहेका गोर्खाहरूको उक्त अनशनलाई गोर्खा हकहितका लागि काम गर्दै आइरहेको गेसो नामक संस्थाले भने साथ दिएको छैन ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।