नेपाल जनस्वास्थ्य प्रतिष्ठानले प्रधानमन्त्री शेरबहादुर देउवालाई कोरोना संक्रमणको तेस्रो लहरको तयारीका लागि १८ बुँदे सुझाव दिएको छ । सुझावको पहिलो बुँदामा राजनीतिक वृत्त, नागरिक समाज र स्वास्थ्यकर्मीसहित सबैको सुझाव तथा सल्लाहलाई सम्मान र ग्रहण गर्नसक्ने क्षमता, सत्यनिष्ठा र इमानदार छवि भएको व्यक्तिलाई स्वास्थ्यमन्त्री नियुक्त गर्न आग्रह गरिएको छ ।
स्वास्थ्य प्रणालीको क्षमतालाई अधिकतम स्तरमा बढाउन जोड दिँदै घर र संस्थागत आइसोलेसन सेवा र समुदाय समर्थित ‘आफ्नो स्वास्थ्यको हेरचाह आफै गर्ने’ क्षमता अभिवृद्धि गर्न पनि जोड दिइएको छ । प्रतिष्ठानले आवश्यक औषधि तथा अक्सिजन आपूर्ति, प्रभावकारी परीक्षण सुविधा, शंकास्पद व्यक्तिका लागि क्वारेन्टिन सेन्टर सञ्चालन गर्न जरुरी रहेको पनि औंल्याएको छ । अस्पतालहरुमा बेड, आइसीयू र भेन्टिलेटरको संख्या बढाउन पनि सुझाव दिइएको छ ।
यस्तै, सीमानामा रहेका जनताको आवागमनलाई अनुगमन गर्न आधारभूत सुविधासहितको होल्डिङ सेन्टर स्थापना गर्न, सहरका प्रत्येक वडा र गाउँपालिकाहरुमा कोभिडका बिरामीहरूका लागि अक्सिजन बैंक हुनुपर्नेमा पनि प्रतिष्ठानले ध्यानाकर्षण गराएको छ ।
केही निजी र मेडिकल कलेजलाई केही समयका लागि अस्थायी कोभिड विशेष अस्पतालमा परिवर्तन गर्न पनि सुझाइएको छ । कोभिड–१९ महामारीको समयमा मानसिक स्वास्थ्य तथा नसर्ने रोगका बिरामीहरुको सेवा सुनिश्चित गर्न अत्यावश्यक रहेको भन्दै प्रतिष्ठानले कोभिड विशेष अस्पताल बाहेकका सरकारी र निजी अस्पतालहरुले कोभिड बाहेकका बिरामीलाई सेवा उपलब्ध गराउनुपर्ने उल्लेख गरेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।