जोन्सन एन्ड जोन्सन कम्पनीले बनाएको कोरोनाभाइरसविरूद्धको एक डोजमात्र लगाए पुग्ने खोप डेल्टा र लाम्ब्डा भेरियन्टविरूद्ध निकै कम प्रभावकारी देखिएको छ।
मंगलबार प्रकाशित एउटा अध्ययन रिपोर्टमा यो खोप पहिलो पटक भारतमा भेटिएको डेल्टा भेरियन्टविरूद्ध ३३ प्रतिशतमात्रै प्रभावकारी पाइएको उल्लेख गरिएको छ।
उक्त अध्ययन प्रयोगशालामा संकलित रगतको नमूनाबाट गरिएको भएकाले आम मान्छेको ठूलो संख्यामा खोपको प्रभावकारिता फरक हुन सक्ने रिपोर्टमा जनाइएको छ। तर अनुसन्धानकर्ताहरूले जोन्सन एन्ड जोन्सनको खोप लगाएकाहरूले फाइजर वा मोडेर्नाको थप एक डोज खोप लगाउनु पर्न हुनसक्ने औंल्याएका छन्।
जोन्सन एन्ड जोन्सनको खोप १ करोड ३० लाखभन्दा बढी मानिसहरूले लगाएका छन्।
नेपालमा पनि अमेरिकी सरकारले अनुदानमा उक्त खोपको १५ लाख डोज दिएको छ। जोन्सन एन्ड जोन्सन खोप साउन ४ देखि नेपालमा पनि लगाउन सुरू गरिएको छ। अहिले उक्त खोप ५० देखि ५४ वर्षका मानिसहरूले लगाउन पाउँछन्।
यसअघि जोन्सन एन्ड जोन्सनले सानो समूहमा अनुसन्धान गरेर प्रकाशन गरेको रिपोर्टमा आफ्नो खोप लगाएको ८ महिनापछि पनि डेल्टा भेरियन्टविरूद्ध प्रभावकारी रहेको उल्लेख गरेको थियो।
अहिलेको अध्ययन रिपोर्टको ‘पियर रिभ्यू’ नभएको र यो साइन्टिफिक जर्नलमा पनि प्रकाशन हुन बाँकी रहेको द न्युयोर्क टाइम्सले जनाएको छ। यसअघिको एउटा अध्ययनले पनि अक्सफोर्ड/ अष्ट्राजेनेका भ्याक्सिनको पहिलो डोज लगाउँदा डेल्टा भाइरसविरूद्ध त्यसको प्रभावकारिता ३३ प्रतिशत नै हुने देखाएको थियो।
‘हामी मानिसहरूले जोन्सन एन्ड जोन्सनको खोप लगाउनु हुन्न भन्ने सन्देश दिन चाहँदैनौं। अहिले यो खोप लगाउनेले भविष्यमा जोन्सन एन्ड जोन्सन वा मोडेर्ना वा फाइजरको अर्को बुस्टर डोज लगाऊन् भन्ने हाम्रो आशा हो,’ उक्त अनुसन्धानका नेतृत्वकर्ता नाथनियल लान्डाउले भनेका छन्।