शनिबार, साउन ३० २०८३
ताजा अपडेट

अर्थमन्त्रीले भने मलाई शतप्रतिशत नतिजा चाहियो


  • मंगलबार, साउन ५ २०७८
7.7K
SHARES

फाइल तस्विर

अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको समस्याभित्रका समस्या समाधान हुन नसकेकोबारे सचिवहरुसँग चासो राखेका छन् । सोमबार बढी पुँजीगत खर्चको जिम्मेवारी पाएका  विकासे मन्त्रालयका सचिवहरुलाई मन्त्रालयमा बोलाएर उनले विकास निर्माणका कामले गति लिन नसक्ने कारणहरुबारे दर्जनभन्दा बढी विषयमा चासो राखेका हुन् ।

साथै उनले कर्मचारीलाई होमवर्क पनि दिएका छन् । उनले सचिवहरुलाई सोधेका छन्, ‘पुँजीगत खर्च कम हुनुको कारण के हो ?, आर्थिक वर्षको अन्तिम महिनामा पूँजिगत खर्चको अनुपात बढी हुनुको कारण के हो ? यसको समाधान कसरी गर्न सकिन्छ ?’ अर्थमन्त्रीले दिएको यो होमवर्क सचिवहरुले अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाउनु पर्नेछ ।

अर्थमन्त्री शर्माले एक जना कर्मचारी सचिवसम्म पुग्दा निकै अनुभवी भइसक्ने भन्दै त्यसको लाभ मुलुकले पाउनु पर्ने बताए ।

‘राज्य सञ्चालनको सबैभन्दा राम्रो अनुभव र क्षमता तपाईंहरुमा छ’ उनले भने, सचिव हुँदासम्म तपाईंहरुसँग भएको थुप्रै वर्षको अनुभव राष्ट्र निर्माणको गम्भीर जिम्मेवारी पुरा गर्न उपयोग गर्नुहोस ।’ राजनीतिक नेतृत्व बेला-बेलामा आउने-जाने भई रहने भन्दै यो स्वाभाविक प्रक्रिया रहेको बताए ।

राष्ट्र निर्माणको जिम्मेवारी गम्भीर रुपमा केन्द्रित भएर सम्पूर्ण रुपमा प्रयोग गरेको आफूले अनुभुति नगरेको उनले बताए ।

‘आरोप लगायो भन्नुहोला, नमिठो होला, तर मलाई त्यस्तो लाग्यो । तपाईंहरुसँग भएको सम्पूर्ण क्षमताको प्रयोग तपाईंहरुले गर्ने अवस्था सिर्जना भएको मैले पाइन,’ उनले भने ।

कर्मचारीले चाहे जसरी काम  गर्न नसक्ने कारण हुन सक्ने भन्दै त्यस्ता समस्या आफुलाई जानकारी गराउन उनले आग्रह गरे ।

‘समस्या समाधान कसरी गर्ने ? त्यो मलाई भन्दिनुस् । एक, दुई, तीन, चार, पाँच यसो भयो भने यो गर्न सकिन्छ, हामी गर्छौं भन्ने एउटा कमिटमेन्ट चाहियो,’ उनले भने, ‘त्यसको लागि के गर्नुपर्छ हामीले ? सरकारले के गर्नुपर्छ ?’

नेपालका अव्यवस्था पूर्ण विकास कार्यक्रम, योजनाविहीन योजना, राजनीतिक स्वार्थ केन्द्रित योजना अगाडि बढ्नुमा कर्मचारीको समेत हात रहेको भन्दै मन्त्रीलाई मात्र दोष लगाएर उम्कन नमिल्ने उनले बताए ।

छलफलमा अर्थमन्त्रीले अर्थतन्त्रको समस्या भित्रका केही जडलाई उत्खन्न गर्ने प्रयास गरेका छन् । उनले देखेको एउटा समस्या हो ‘अन्तरमन्त्रालय समन्वय’ ।

‘आफ्नै बाटो बनाउने, आफ्नै सरकारले बनाउने, आफ्नै रुख काट्न फेरि अर्को सरकारको स्वीकृति लिनुपर्ने जस्ता कार्यविधिहरु कसरी बन्छन् ? उनले प्रश्न गरे । यी गम्भीर विषय भएको भन्दै छलफल गर्न आहृवान गरे ।

अर्थमन्त्री शर्माले अर्को चुनावसम्म यही सरकार निरन्तर हुने भन्दै आगामी वर्ष पनि उस्तै समस्या लिएर नआउन सचिवहरुलाई आग्रह गरे ।

‘हरेक वर्ष उही रिपोर्ट गर्ने ? अर्को वर्ष म यो रिपोर्ट सुन्न चाहन्नँ,’ उनले भने । पुँजीगत खर्च शतप्रतिशत हुने पर्ने भन्दै उनले त्रुटि आजैबाट सच्याउन लाग्नुपर्ने बताए ।

‘हामी साउनको ३-४ गतेमा छौं, अहिले सच्याऔं । तर, शतप्रतिशत नतिजा चाहियो,’ उनले भने ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा