शनिबार, साउन ९ २०८३
ताजा अपडेट

ओली पक्षले सोधेको स्पष्टीकरणको जवाफ माधव समूहले नदिने


  • मंगलबार, साउन ५ २०७८
11.9K
SHARES

फाईल तस्बिर

एमालेको माधव नेपाल समूहले अध्यक्ष केपी शर्मा ओली पक्षले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएको छ । सोमबार बसेको एमाले केन्द्रीय समिति बैठकले पार्टीको ह्वीप उल्लङ्घन गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

एमालेको यो निर्णय लगत्तै सोमबार बेलुका माधव नेपालसहितका २२ सांसदहरुबीच स्पष्टीकरणको जवाफ दिने कि नदिने भन्ने विषयमा छलफल भएको थियो । उक्त छलफलले जवाफ दिन जरुरी नरहेको निष्कर्ष निकालेको सांसद मेटमणि चौधरीले जानकारी दिए ।

‘हामी स्पष्टीकरणको जवाफ नदिने निष्कर्षमा पुग्यौ । हामीले पार्टी मानेकै छैनौ, अनि उनीहरूले गरेको निर्णयको जवाफ दिने कुरै भएन’, चौधरीले रातोपाटीसँग भने, ‘स्पष्टीकरणको कुनै अर्थ पनि छैन । अर्थ हुनलाई एमाले हुनुपर्यो ।’

उनले पार्टी विवादपछि कोही एमाले नरहेको भन्दै दुवै पक्षले एकले अर्कोलाई मान्यता नदिएर समूह चलाइरहेको बताए ।

उनले एमाले हुनलाई २०७५ जेठ २ मा फर्कनुपर्ने भन्दै ओली नै जेठ २ मा नफर्किएकाले यस्तो अवस्था आएको बताए । ‘एमाले हुनलाई २०७५ जेठ २ मा फर्कनुपर्छ । त्यो ठाउँमा कोही नपुगेको अवस्थामा एउटा समूहले अर्को समूहलाई स्पष्टीकरण सोधेको कुनै अर्थ हुँदैन’, चौधरीको भनाइ छ ।

ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको एमाले बैठकमा अध्यक्ष ओलीले एमालेका सांसदहरूले देउवालाई विश्वासको मत दिएर शर्मनाक र लज्जास्पद चरित्र देखाएको बताएका थिए । अध्यक्ष ओलीले देउवालाई भोट हाल्ने २२ जना नेता एमालेमा नफर्कने निष्कर्ष सुनाउँदै उनीहरूबिनै एमाले पार्टी चल्ने सङ्केत गरेका थिए । सोमबारै जारी केन्द्रीय कमिटी बैठक रोकेर अध्यक्ष ओलीको निजी निवास बालकोटमा स्थायी समिति बैठक बसेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा