अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनको कोरोनाविरुद्धको खोप लगाएकामध्ये केही अमेरिकीमा स्नायु प्रणालीसम्बन्धी समस्या देखिएको बताइएपछि यसलाई लिएर विभिन्न आशंकाहरु उत्पन्न भइरहेका छन् । अमेरिकामा १ करोड २८ लाख जनाले कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सनको खोप लगाएका छन् । जसमध्ये कम्तिमा १०० जनालाई यस्तो दुर्लभ साइड इफेक्ट देखिएको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले जनाएको छ । यसमध्ये ९५ प्रतिशतमा गम्भीर समस्या देखिएको र अस्पताल भर्ना भएका थिए ।
यद्यपी अमेरिकीकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडीए) ले अहिलेसम्म उपलब्ध प्रमाणले जोन्सन एण्ड जोन्सनको खोप र गीयाङबारे सिन्ड्रोम (स्नायु प्रणालीसम्बन्धी समस्या) को जोखिमबीच सम्बन्ध रहेको देखाए पनि प्रत्यक्ष सम्बन्ध रहेको स्थापित गर्ने आधार भने स्पष्ट नभएको बताएको छ ।
सोही खोप नेपाललाई अमेरिकाले १५ लाख बढी डोज उपलब्ध गराएको र साउन ४ गतेदेखि लगाउने तयारी भइरहँदा केही अलमल देखिएको छ ।
तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले एउटा मात्रा मात्रै लगाए पुग्ने जोन्सन खोपलाई विश्व स्वास्थ्य संगठनले नै ५५ देशमा आपत्कालीन प्रयोगको अनुमति दिएकाले ढुक्क भएर खोप लगाउन आग्रह गरे ।
बाहिर हल्ला भएजस्तो यो खोप लगाउँदा ठूलो जोखिम नभएको सहप्रवक्ता डा. अधिकारी बताउँछन् । ‘सबै खोपका केही न केही जोखिमहरु सार्वजनिक हुन्छन् तर, जोखिमभन्दा लाभ कयौँ गुणा बढी हुने भएकाले ढुक भएर खोप लगाउँदा हुन्छ’, उनले आग्रह गरे ।
अध्ययन अनुसन्धान गरेर त्यसका आधारमा डब्ल्यूएचओले जोन्सन एण्ड जोन्सनको खोपलाई अनुमति दिएको भन्दै उनले अमेरिकामा मात्रै एक करोड २८ लाख नागरिकले सो खोप लगाइसकेकाले समस्या नहुने बताए । उनले नेपालले विश्व स्वास्थ्य संगठनको स्टेटमेन्टलाई विश्वास गर्नुपर्ने उनको भनाइ छ ।