पर्वतको एउटा गाउँका १२ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कुश्मा नगरपालिका–८ चुवामा १२ बालबालिका कोरोना संक्रमित भएका हुन् । जिल्लाभर कम मात्रामा बालबालिका संक्रमित भइरहेको अवस्थामा पछिल्लो एक हप्तामा चुवामा एकैपटक १२ बालबालिका सङ्क्रमित भएका हुन् ।
वडाध्यक्ष राजकुमार क्षेत्रीका अनुसार १३ महिनादेखि ११ वर्ष उमेर समूहका बालबालिका संक्रमित भएका हुन् । रुघाकोकी, ज्वरोलगायतका लक्षण देखिएपछि गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो । उहाँले बालबालिका धमाधम सङ्क्रमित भएकाले यो नयाँ खालको भेरियन्टको आशङ्का गरिएको बताउनुभयो ।
अनुसन्धानकर्ताले तेस्रो लहरको सङ्क्रमणले बालबालिका प्रभावित हुने प्रक्षेपण गरेका थिए । पर्वतको यो सङ्क्रमणको घटना तेस्रो लहरको संकेतका रूपमा व्याख्या गरे पनि भेरियन्टको परीक्षण गर्न स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशलाई अनुरोध गरिएको वडाध्यक्ष क्षेत्रीले बताए ।
चुवामा मात्रै अहिले बालबालिकासहित विभिन्न उमेरका ४२ जना सक्रिय सङ्क्रमित रहेका छन् । वडाले स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी र अक्सिजनसहितको आइसोलेशन सञ्चालन गरेको छ ।
सङ्क्रमितलाई निःशुल्क उपचार, औषधि र अक्सोमिटर वितरण गरिँदै आएको छ । पर्वतमा सक्रिय सङ्क्रमितको सङ्ख्या २०० रहेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।