नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको विषयलाई भारतीय अखबारहरुले प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।
प्रमुख अंग्रेजी दैनिकहरुले सम्पादकीय नै लेखेका छन् । दि इन्डियन एक्सप्रेसले आफ्नो सम्पादकीयमा संसद भंगको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले पक्षधरता देखाएको उल्लेख गरेको छ । सो सम्पादकीयमा भनिएको छ, ‘राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीले चाहे अनुसार नै फेरि संसद भंग गरेर खुला पक्षपाती कदम चालिन् । देउवाले २७५ मध्ये १४९ जनाको हस्ताक्षर बुझाउँदा पनि प्रधानमन्त्री नियुक्त गर्न अस्वीकार गरिन् जुन आश्चर्यजनक थियो ।’
सो सम्पादकीयमा नेपाली कांग्रेस र देउवा कुनै अपरिचित व्यक्ति नभएको र भारतीय राजनीतिक संस्थापनको परम्परागत मित्र भएको समेत उल्लेख गरिएको छ । सम्पादकीयमा भनिएको छ, ‘पश्चिमी लदाख क्षेत्रको लाइन अफ कन्ट्रोलमा चिनियाँ सेनाको सम्बन्धमा भारत हाई अलर्टमा रहेको समयमा काठमाडौं मित्र हुँदा यसले निश्चय नै सहयोग गर्छ ।’
नयाँदिल्लीले देउवासँगको मित्रतालाई धेरै बढाइचढाइ गर्न नहुने र उनीहरुसँग अस्वाभाविक अपेक्षा गर्न पनि नहुने समेत उल्लेख गरिएको छ । सम्पादकीयमा भनिएको छ, ‘नेपालका कुनै पनि राजनीतिज्ञले दिल्लीसँग नजिकको सम्बन्ध भएको देखाउन सक्दैनन् । काठमाडौंको कुनै पनि सरकारले भारतसँग जति नजिकको सम्बन्ध भए पनि चीनलाई इन्कार गर्न सक्दैन किनकी चीनले नेपालको पूर्वाधारमा धेरै लगानी गरेको छ ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।