शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

अर्जेन्टिनाले तोड्यो २८ वर्षको उपाधि खडेरी, मेस्सीले जिते पहिलो अन्तर्राष्ट्रिय ट्रफी


  • आइतबार, असार २७ २०७८
12.5K
SHARES

फाइल तस्विर

अर्जेन्टिनाले २८ वर्षको उपाधि खडेरी तोड्दै कोपा अमेरिकाको उपाधि जित्दा सुपरस्टार लिओनल मेस्सीले पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेका छन् । ब्राजिलमा भएको ४७औं संस्करणको कोपामा ब्राजिललाई नै फाइनलमा पराजित गर्दै अर्जेन्टिना च्याम्पियन बनेको हो ।

यस उपाधिसँगै अर्जेन्टिनाले सर्वाधिक १५ पटक कोपा जित्ने उरुग्वेको कीर्तिमान समेत बराबरी गरेको छ । सन् १९९३ पछि अर्जेन्टिनाले पहिलो पटक कोपाको उपाधि जितेको हो । २८ वर्षमा अर्जेन्टिनाले जितेको यो कुनै पनि ठूलो उपाधि समेत हो ।

त्यसयता अर्जेन्टिनाले चार कोपा फाइनल एक विश्वकप फाइनल र दुई कन्फ्रेडेरेसन कप फाइनल गरी कुल ७ फाइनल खेले पनि सबैमा पराजित भएको थियो ।

तर यस पटक भने अर्जेन्टिनाले हारको यात्रालाई ब्रेक लगायो । त्यसका लागि ब्राजिललाई घरमै पराजित गर्‍यो । २००४, २००७, २०१५ र २०१६ को कोपा फाइनल पराजित भएको अर्जेन्टिना २०१४ को विश्वकपमा पनि पराजित भएको थियो ।

यस्तै मेस्सीले पनि पाँचै पटक फाइनल खेल्दा अन्तत: पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेका छन् ।

मेस्सीले २००७, २०१५ र २०१६ कोपा र २०१४ को विश्वकप फाइनल खेले पनि उपाधि जित्न सकेका थिएनन् । डेढ दशकको प्रयासपछि ३४ वर्षीय मेस्सीले पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि जितेका हुन् । मेस्सीले फाइनलमा गोल गर्न नसके पनि यस संस्करणमा ४ गोल गर्नुका साथै ५ असिस्ट समेत गरे ।

मेस्सीले यसअघि सन् २००८ मा चीनमा भएको ओलम्पिकमा गोल्ड मेडल जितेका थिए । तर त्यो यु-२३ टिमले खेल्ने प्रतियोगिता थियो ।

ब्राजिललाई उसैको मैदानमा हराउन अर्जेन्टिनाका लागि एन्जल डि मारियाले निर्णायक गोल गरे । यसअघि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेर खेलेका डि मारियाले फाइनलमा पहिलो रोजाइँमै खेल्ने अवसर पाएका थिए । जसमा उनले न्याय पनि गरे ।

रियो दि जेनेरियोस्थित माराकाना स्टेडियममा आइतबार बिहान भएको खेलमा डि मारियाले २२औं मिनेटमा गोल गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा