चीनबाट खरिद गरेर ल्याइएको कोरोनाविरुद्धको भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेर समूहकालाई पहिलो प्राथमिकता दिएर लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसपछि ५५ देखि ६० वर्ष उमेर समूहका लाई लगाउने योजना मन्त्रालयको छ ।
चीनको सिनोफार्म कम्पनीबाट सरकारले हालै ४० लाख डोज खरिदको सम्झौता गरेको छ । सो सम्झौता अनुसार पहिलो खेपमा आठ लाख डोज खोप शुक्रबार बिहान काठमाडौं आइपुगेको छ । यसपछि पनि नेपाल एयरलाइन्सको जहाजमार्फत् निरन्तर खोप ल्याइने सरकारको योजना छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले भने, ‘खोप लगाउन ६० देखि ६४ वर्ष उमेर समूह पहिलो प्राथमिकतामा छन् । त्यसपछि ५५ देखि ६० वर्षकालाई र अन्य समूहलाई दिन्छौं । तर अन्य समूहबारे भने निर्णय भइसकेको छैन ।’
उनले चीनबाट ल्याइएको खोप प्रदेशका भण्डारण स्थलमा पठाउन पनि तत्काल सुरु गरिने बताए । ‘खोपको सबै विवरण कम्प्युटरमा इन्ट्री गर्ने काम सकिनासाथ प्रदेशहरुमा पठाउँछौं,’ उनले भने । खोपलाई निश्चित तापक्रममा राख्नु पर्ने हुन्छ । त्यसका लागि पर्याप्त ठाउँ नभएकाले चीनबाट आउनासाथै काठमाडौं उपत्यका बाहिर खोप पठाउन सुरु गरिने मन्त्रालयका प्रवक्ता डा. पौडेलले बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।