डेनमार्कलाई हराउँदै इंग्ल्यान्ड पहिलाे पटक युरोकप २०२० को फाइनल पुगेकाे छ ।
इंग्ल्यान्डको वेम्ब्ले स्टेडियममा बुधबार राति सम्पन्न युरोकपको दोश्रो सेमिफाइनलको अतिरिक्त समयको १४औं मिनटमा कप्तान ह्यारी केनले गोल गरेपछि इङ्गल्याण्डले डेनमार्कलाई २–१ गोलले पछि पार्दै हराएको हो ।
खेलको १०२औं मिनटमा डेनमार्कका जोकिम माहिलले रहिम स्टर्लिङ्गमाथि डि बक्समा फाउल ट्याक्लिङ्ग गर्दा इङ्गल्याण्डले पेनल्टीको अवसर पाएको थियो । उक्त पेनल्टीमा केनको प्रयास डेनिस गोलकिपर एसमिचेलले बचाउँ गर्दा आएको रिबाउण्डमा केनले नै गोल गर्दै इङ्गल्याण्डलाई जित दिलाएका थिए ।
खेलको निर्धारित समय बराबरीमा टुङ्गिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
खेलको ३०औं मिनटमा पाएको फ्रिकिकमा युवा मिकेल डाम्सगार्डले वालमाथिबाट सुन्दर कर्ल किकलाई गोलमा परिणत गर्दा डेनमार्कले इङ्गल्याण्डमाथि अग्रता बनाएको थियो ।
३९ औं मिनेटमा डेनमार्कका सिमोन काइरले आत्मघाती गोल गरेपछि इङ्गल्याण्डले पहिलो हाफअघि १–१ गोलको बराबरी गर्ने मौका पायो । इङ्गल्याण्डका बुकायो साकाको क्रसमा सिमोनले आफ्नै पोष्टमा गोल गर्दा पहिलो हाफमा बराबरी भएको थियो ।
यसपछि दोश्रो हाफमा दुबै टोलिबाट थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयसम्म धकेलिएको थियो ।
इंग्ल्यान्डले आईतबार राति १२:४५ बजेबाट शुरु हुने १६औं सँस्करणको फाइनलमा इटालीको सामना गर्नेछ ।