नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट नेता कार्यकर्ताहरुको भेला अहिले बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी छ । सिटौला निकट मानिदै आएका गगन थापा र प्रदीप पौडेल भेलामा अनुपस्थित भएका छन ।
१३ औं महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेका नेता सिटौलाले आसन्न महाधिवेशनबारे रणनीति बनाउन आफ्नो समूहका नेता कार्यकर्तालाई छलफलमा बोलाएका हुन् ।
भेलामा सिटौलासहित नेताहरू उमाकान्त चौधरी, शिव हुमागाई, भीमसेन दास प्रधानलगायत उपस्थित छन् । त्यस्तै उनी निकटका अन्य नेता, भ्रातृसंस्थाका पदाधिकारीहरू पनि छन् ।
कांग्रेसमा तेस्रो धार भनेर चिनिने सिटौला समूहबाट आगामी महाधिवेशनमा समूहगत दावेदारी दिने विषयमा भेलामा छलफल हुने बताइएको छ । ‘तल्लो तहका अधिवेशनमा कसरी प्रस्तुत हुनेदेखि महाधिवेशनमा कसरी जाने भन्नेमा छलफल भइरहेको छ’, भेलामा सहभागी एक नेताले भने ।
सिटौला समूहका प्रभावशाली नेताहरू गगन थापा र प्रदीप पौडेल भने भेलामा सहभागी छैनन् । कांग्रेसका पूर्वआमन्त्रित केन्द्रीय सदस्य रामजी कुँवरको निधनपछि परिवारसँग भेटघाट गर्न थापा पोखरा गएका कारण भेलामा अनुपस्थित रहेका हुन् । पौडेल भने क्रियाशील सदस्यता छानविन समितिको काममा व्यस्त भएका कारण भेलामा सहभागी नभएका हुन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।