चेक रिपब्लिकसंग जित निकाल्दै डेनमार्क युइएफए युरोकप २०२० को सेमिफाइनल पुग्न सफल भएकाे छ ।
बाकु ओलम्पिक स्टेडियममा शनिबार राति सम्पन्न क्वाटएरफाइनल खेलमा डेनमार्कले चेक रिपब्लिकलाई २–१ गोल अन्तरले हराउँदै सेमिफाइनल पुग्न सफल भएकाे हो ।

युराे २०२०
डेनमार्कको जितमा थोमस डेलाने र कास्पर डोल्स्बर्गले एक एक गोल गरे भने चेक रिपब्लिकका लागि प्याट्रिक सिकले एक गोल फर्काए ।
खेलको शुरुवाती पाँचौ मिनटमा स्ट्राइगर लार्सेनको कर्नर किक प्रहारलाई सदुपयोग गर्दै डलानेले हेडर गोेल गर्दै डेनमार्कलाई खेलमा शुरुवाती अग्रता दिलाएका थिए ।
यसपछि खेलको ४२औं मिनटमा जोकेम माहेलको सुनदर चिप पासमा डोल्स्बर्गले वान टच फिनिसिङ्ग गर्दै डेनमार्कलाई पहिलो हाफमा २–० गोल अन्तरको अग्रता दिलाएका थिए ।
खेलको ४९औं मिनटमा प्याट्रिक सिकले चेक रिपब्लिकका लागि गोल गर्दै डेनमार्कबिरुद्ध खेलमा पुनरागमनको आश जगाएका थिए । उनले भ्लादिमिर कुफलको पासमा गोल गर्दै चेकलाई २–१ गोलको अवस्थामा पुर्याएका थिए ।
सिकको यो यस संस्करणको युरोकपमा पाँचौ गोल समेत हो । यससँगै सिक प्रतियोगिताको गोल्डेनबुटको प्रबल दाबेदार बनेका छन् । प्रतियोगिताको सबैभन्दा बढी गोल गर्ने सूचीको शिर्षमा रहेको पोर्चुगालका क्रिष्टियानो रोनाल्डोको पनि समान पाँच गोल छ ।
यसपछिको बाँकी समयमा चेकले पुनरागमन गोल गर्न नसक्दा खेल डेनमार्कले २–१ गोल अन्तरले आफ्नो पक्षमा पारेको छ ।
जितसँगै डेनमार्क १६औं संस्करणको युरोकपको सेमिफाइनल चरणमा पुग्न सफल भएको छ । उसले प्रि क्वार्टरफाइनलमा वेल्सलाई ४–० गोल अन्तरले हराउँदै क्वार्टरफाइनलमा पुगेको थियो ।
अर्काेतर्फ हारको सामना गरेको चेक रिपब्लिकको युरो यात्रामा विराम लागेको छ । उसले नेदरल्याण्ड्समाथि २–० गोल अन्तरको जित निकाल्दै क्वार्टरफाइनलसम्म पुगेको थियो ।
यसअघि गएराति भएको पहिलो क्वार्टफाइनलको रोमाञ्चक खेलमा स्पेनले स्विट्जरल्याण्डलाई पेनल्टी शुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाइसकेको छ ।
यस्तै दोश्रो क्वार्टरफाइनल खेलमा बेल्जियमलाई २–१ गोल अन्तरले पाखा लगाउँदै इटालि पनि सेमिफाइनलमा पुगेको छ ।
इटालि र स्पेनबिच प्रतियोगिताको पहिलो सेमिफाइनल खेल हुनेछ भने डेनमार्कले युक्रेन र इङ्गल्याण्डबिचको विजेता टोलिसाग दोश्रो सेमिफाइनलमा खेल्नेछ ।