शनिबार, साउन ९ २०८३
ताजा अपडेट

दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्ने एमालेको तयारी


  • आइतबार, असार १३ २०७८
12.7K
SHARES

फाईल तस्बिर

नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्ने तयारी गरेको छ । गत २८ फागुनमा बनाइएको महाधिवेशन आयोजक कमिटी खारेज गर्नकै निम्ति १६ असारमा बैठक बोलाइएको स्थायी कमिटी सदस्य किरण गुरुङले बताए ।

‘१६ गते बिहान ११ बजे बस्ने बैठकले आयोजक कमिटी विघटन गरेर केन्द्रीय कमिटी ब्युँताउने निर्णय भएको छ । त्यसपछि केन्द्रीय कमिटीबाट थप निर्णय हुन्छ,’ उनले भने ।

आइतबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । त्यही बैठकबाट अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेको ६ बुँदे एकताको प्रस्ताव अनुमोदन गराउने तयारी भएको छ ।

केन्द्रीय सदस्य विष्णु रिजालले पनि महाधिवेशन आयोजक कमिटी निस्क्रिय बनाइने तयारी भएको बताए । उनले भने, ‘एमालेमा अब अस्थायी संरचना रहँदैन । पार्टी एकतालाई अगाडि बढाउन केन्द्रीय कमिटी क्रियाशील हुन्छ ।’

अध्यक्ष ओलीले २३ जेठमा ६ बुँदे प्रस्ताव सार्वजनिक गरेका थिए । तर उक्त ६ बुँदेमा वरिष्ठ नेता माधवकुमार नेपाल समूह सहमत छैन ।

नेता नेपालले भने ओलीले भनेजस्तो ३ जेठ नभएर २ जेठ २०७५ अगाडिको अवस्थामा एमाले फर्किनुपर्ने अडान लिँदै आएको छ । एमाले मिलाउन कार्यदलका नेताहरु अनौपचारिक सम्वादमा छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा