बुधबार, साउन १३ २०७८
ताजा अपडेट

स्कोरपियोको लर्को, त्यो रात, राहत अनि हेलम्बु यात्रा


  • दामोदर भट्टराई (बद्री)
  • शनिबार, असार १२ २०७८
6.3K
SHARES

अषाढ ९ गते बिहान मोबाइल नेटवर्कको समस्याका कारण हाम्रो यात्रा अलमल भयो । १० बजे हामी काठमाडौँबाट हेलम्बुको यात्राका लागि हिड्यौं । काठमाडौँबाट मेलम्चीसम्मको यात्रा त्यति कठिन छैन ।  मेलम्चीबाट तालामाराङ्ग हुँदै जाने बाटो अलि जोखिम छ ख्याल गर्नुहोला, मेलम्चीमा रहेका हाम्रा साथीहरू बताउँदै थिए । काठमाडौँबाट हेलम्बु जाने टोलीमा हाम्रो लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश पदाधिकारीसँगै उत्साही युवाहरुको टिम थियो । जसलाई विनोद बानियाले संयोजन गरेका थिए । हामीलाई  सिन्धुका युवा नेता प्रकाश गुरुङ्गले नेतृत्व दिइरहेका थिए । सबैको एउटै विचार थियो कि हामी हेलम्बु नै पुग्नु पर्छ बरु जस्तै पिडा परोस्, यही सोचका साथ हिँडेको टोली जिरो किलोमा खाना  खाई १ बजे मेलम्ची पुग्यो ।

मेलम्ची सम्म गाडीमा समाजसेवा, बढिपहिरो, विपत् तथा वर्तमान राजनीतिका विषयमा छलफल भयो । काठमाडौँमा बसेर समाचार र भिडियोमा हेरिएको दृश्यहरू बिस्तारै आफ्नै आँखा अगाडी देखिन सुरु भयो । खोलाको गडगड आवाज , खोलाले बगाएर ल्याएका समानाहरु यो दृश्य त ९ दिन पछाडिको हो । पहिलो र दोस्रो दिन कस्तो अवस्था थियो होला ? कल्पना गर्न समेत गाह्रो छ । यही सोच्दै हामी मेलम्ची बजारको दयनीय अवस्था हेर्दै अगाडी बढ्यौ । मेलम्चीको पुरानो बजार हुँदै अगाडी बढ्दा खोलाको बहाव निकै ठुलो थियो । खोला नै बाटोमा छ कि बाटो खोलामा पुगेको छ ठम्याउन गाह्रो थियो । बाटो सहज छैन । यो काठमाडौँमा नै साथीहरूले बताएका थिए । अषाढ १ गते देखीको बाढीका कारण बाटोहरू भत्कने क्रम हाल सम्म जारी छ । पानी सँगै बगेर आएको हिलाको लेदोले बाटो कटान गरिरहेको स्पष्ट देखिन्थ्यो । दोहोरो गाडी चल्ने सम्भावना छैन । किनकि दाँयाबाँया अलिकति भयो कि गाडी खोलामा पुग्ने अवस्था छ । यस्ता बाटाहरू धेरै ठाउँमा कटान भएका छन् । जसोतसो हामी तालमाराङ्ग पुग्यौ.त्यहाँ केही स्थानीय जनप्रतिनधीहरु सँग भेटघाट भयो । उनीहरू सँगको भलाकुसारी पछि हामी ग्ल्याथुमका लागि अगाडी बढ्यौ । केही समय तालामाराङ्ग बस्ने क्रममा हामी भन्दा  अगाडी अत्यास लाग्ने गरेर स्कोरपियो, ल्याण्डक्रुसर, हाइलक्स जस्ता गाडीहरू रन्किएर अगाडी बढे, नेपालको झन्डा भएको गाडी अघिपछि सुरक्षाकर्मीका गाडी अनि सरकारी गाडीहरूको ठुलो लर्को हृँकियो  । एकातर्फ गाडीको लर्को थियो भने अर्को तर्फ स्थानीय बृद्धहरु बच्चालाई खेलौना दिएर भुलाएको जस्तै गर्छन् यिनीहरू, केही थान समान लिइआएका नेताहरू पापी हुन भन्दै कराई रहेका थिए । यत्रो कोरोनामा एउटा मास्क समेत लिई आउन नसक्ने नेताहरू सहयोग गर्न होइन तमास हेर्न मात्रै आएका हुन । ७२ सालको भूकम्पको पैसा त अहिले सम्म लिन सकेको छैन, उनीहरू रिसाइरहेका थिए ।

यहाँ राहत सरकारले होइन ,अर्काको घरमा काम गर्न बसेका, मजदुर गर्नेहरूले पठाएका छन् । विदेशमा बसेकाहरूले दुख गरेर पठाएका छन् । सरकारले काँहा के गरेको छ खै ? सबै फटाहा हुन ! आफ्ना पार्टीका नेताहरू आउँदा दौडेर आँउछन , अनि फेरी सबै हराउँछन् , उनीहरू स्थानीय राजनीतिज्ञलाई समेत चाकडीबाजहरु भन्दै कराउँदै थिए । हामी गाडी बाट यो सब सुनिरहेका थियौ । सायद त्यो रिस हामी माथि पनि थियो । हामी पनि राहतका समाग्री लिई गएका थियौ । हाम्रो पछाडि एक सरकारी गाडी पनि थियौ । उनीहरूको कुरा सुन्दै हामीहरू केही समर्थन केही विपत्ति राख्दै चनौटे तर्फ लाग्यौ । तामालमाराङ्ग बाट चनौटे पुल सम्मको बाटो केही सहज थियो । सायद खोला किनार भन्दा केही माथि भएका कारण त्यो बाटो सुरक्षित जस्तै देखिन्थ्यो । जब चनौटे पुल पुगियो , त्यहाँको अवस्था फरक थियो । स्थानीय मिडियाकर्मीहरू, सुरक्षाकर्मीहरू, सरकारी नियालिएका विशिष्ट व्यक्तिहरू ठुलै जाम थियो । कारण केही समय अगाडी हुँिकएका मुख्यमन्त्री सहितको जम्बो टोली किउल तर्फ लाग्ने बाटोको स्थलगत अवलोकनमा थिए । मुख्यमन्त्री सँगै नेपाली काँग्रेसका प्रदेश सांसद निमा लामा, पूर्व सामाजिक विकास मन्त्री युवराज दुलाल लगायत दर्जन भन्दा बढी नेताहरू देखिएका थिए । मुख्यमन्त्रीलाई एमाले केपी ओली निकट मानिने नेता हस्त पण्डितले व्रिफ गर्दे थिए । हामी सोही स्थानमा रोकिन बाध्य भयौ । कारण थियो , मुख्यमन्त्रीको सवारी । उनी गणेश बगर सम्म जाने भएकाले उनको यात्रालाई बाधा नहोस् भनेर हाम्रो राहत सहितको गाडीलाई चनौटेबाट माथि जान रोकियो । सोही बिचमा एकाएक खोलाको बहाव बढ्दा केही समय भाग दौड समेत भयो । किउल जाने मार्गको बस्ती पुरापुर बगरमा परिणत भएको छ । खोला कति बेला बढ्छ ठेगान छैन । बस्ने घर मात्रै नभई करोडौँका व्यापार नष्ट भएका छन् । धानवाली लगाउन ठिक्क परेका खेत सँगै सपनाहरू बगेका छन् । बस्ती अन्यौलता छ । उद्धारका लागि केही संख्याका सुरक्षाकर्मीहरू बाहेक अन्य केही त्यस्तो व्यवस्थापन छैन । जहाँ राज्य भएको महसुस होस । यो भनाई स्थानीयहरूको हो । चनौटेको रातो पुलको छेउमा हामी २ घण्टा बस्न बाध्य भयौ । मुख्यमन्त्री जी फर्कनु भएपछि हाम्रो यात्रा त्यहाँबाट सेरा हुँदै अगाडी बढ्यो । दिनको ४ बजेपछि हामी लाग्यौ हेलम्बु तर्फ बाटो काँहा पुगेर रोकिन्छ थाहा छैन । हामीलाई हेलम्बुको प्रभावित स्थान सम्म पुग्ने हुटहुटी जागेको छ । केही समय पछि हामी पुग्यौ गणेश बगर जहाँ बाट, किउल, महांकाल, इचोक को नदी किनार बस्तीमा बाढीले देखाएको वितण्डा नजिक बाट देखियो । राहतका सामान बोकेर गएका अन्य सहयोगी दाताहरूका गाडीहरू सोही स्थानमा थिए । माथि जाने वा नजाने दोधारमा देखिएकाहरूको बिचमा हामी ढोडेनी तर्फ लाग्यौ ।  करिब ५ बज्न लागिसकेको छ । उकालो  कच्ची बाटो , रातो माटोले भरिएको  त्यो बिचमा मुसलधारे पानी  हाम्रो लागि यो कल्पना भन्दा बाहिरको अवस्था थियो । तर हामी काठमाडौँमा तय भएको यात्रा पुरा गरेर छोड्ने संकल्पमा थियौ । साँझ ६ बजे पछि अन्धकार बाटो, मुसलधारे पानी , माथिबाट क्षण क्षणमा खस्ने पहिरो, त्यो त हामी हेलम्बु चढ्दै गरेको अवस्था हो । जसोतसो ढोड्नी पुग्यौ ।  कँहि कतै बाट पनि हेलम्बुको सेल्टर रहेको स्थानमा जान सकिएन । कारण हामी चढेको गाडी त्यहाँ सम्म पुग्दा हामी र गाडी सुरक्षित हुने अवस्था केबल कल्पना मात्रै थियो । तत् पश्चात् हामीले हेलम्बु गाउँपालिका अध्यक्षलाई जानकारी दिएपछि त्यहाँ रहेको गाडीलाई अनुरोध गरेर १ घण्टा सोही स्थानमा बसी राहत समाग्री दिएर हामी फर्कने निर्णय ग¥यौ । त्यहाँ सम्म हामीलाई लैजान सहयोग गर्ने सुरक्षाकर्मी सुनिल थापाको कार्य देखेर हामीलाई अचम्म लाग्यो, यस्तो पनि सुरक्षाकर्मीहरू नेपालमा छन् । जसको कार्यालय अघिल्लो रात बाढीले बगायो, लगाउने दुई जोर लुगा सम्म छैन, तर पनि डिउटीमा प्रतिबद्ध छन् । सलाम सई सुनिल थापा !

रातको ८ बजे हामी ढोडेनी बाट फिर्ता हुँदाको अवस्था साँच्चै पिडादायी थियो । अन्धकारले भरिएको ओरालो, अनवरत मुसलधारे पानी परेको छ । रातो माटोबाट जोगिएर गर्नुपर्ने यात्रा छ ।  केबल सवारी चालकको स्टेरिङ सँग मात्रै विश्वास थियो । त्यो पनि एकाएक खाल्डोमा परेर चक्का बिग्रिएपछि अर्को समस्या आइलाग्यो । तत् पश्चात् लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष दीपक गुरुङ्ग, उपाध्यक्ष उमेश गुरुङ्ग र म हिँड्नुपर्ने अवस्था आयो । किनकि केही समय अगाडी सम्म हामीलाई कसरी चनौटे सम्म पुग्ने भन्ने तनाव थियो । त्यसमा अब गाडी त्यहाँ सम्म नपुगे के गर्ने भन्न अर्को समस्या आयो । बिस्तारै गाडीलाई तल पुर्‍याउनु पर्ने भएकाले हामी रातको ९ बजे मुसलधारे पानी सँगै प्रीति लगाई हिड्न थाल्यौ । त्यो बाध्यता थियो । हामी सँगै गएका युवाहरुको जोस अलग्गै थियो । उनीहरूमा यस्तो ऊर्जा थियो कि त्यहाँका जनताहरूले अनि सुरक्षाकर्मीहरुले यसरी यहाँसम्म आउने त तपाईहरु मात्रै हो भनेपछि युवाहरू आफ्नो गन्तव्यमा पुगेकोमा खुसी थिए ।  रोडा र बालुवा ओसार्ने मिनी ट्रकमा निथ्रुक्क भिजे पनि कुनै चिन्ता नलिई ओरालो लागेका उनीहरूले हामीलाई त्यही मिनिट्रकमा बस्न आग्रह गरे बाटो लामो भएपछि हामी पनि चढ्यौ । भिरको बाटो, रातको १० बजे मिनिट्रक एकातिर भिर छ । अर्को तर्फबाट आइरहेको पहिरो एकले अर्कोलाई समात्नुपर्ने अवस्था छ ।  सायद अहिले सम्म यति कष्टकर यात्रा भएको थिएन । जसोतसो गणेश बगर हुँदै चनौटे आइपुगे पछि अब घर पुगिने र काठमाडौँ फर्कने अवस्था बन्नेमा निश्चिन्त भयो । विस्तार विस्तार सबै टोली भेला भएर रातको ११ बजे तालमाराङ्ग हुँदै मेलम्ची तर्फ हुकिइयौ । बिहान ८ बजे हिँडेको हाम्रो टोली रातको १ बजे काठमाडौँ पुग्यो ।

काठमाडौँ आइसकेपछि पनि मनमा अनेक प्रश्नहरू उब्जन थाल्यो । आफू पनि कुनै राजनैतिक दलको सिपाही भएका कारण प्रश्न जायज थियो ? राजनीति के का लागि गरिन्छ ? कसका लागि गरिन्छ ? मानिसहरू हताहत भएका छन् । करोडौँका धनमाल नष्ट भएका छन् । अबोध बालबालिका र बृद्धबृद्धाहरुको आँसु बगेको छ । युवाहरू अन्योलमा छन् । यो वेलामा पनि एक हुन नसक्नु अनि विपद्को व्यवस्थापनमा राज्यले अभिभावकत्व लिन नसक्नु यो भन्दा निरीहता के हुन सक्ला ।

यो यात्राका बिचमा देखिएका केही विषयहरूको उठान आवश्यक छ । मुख्यमन्त्रीको यात्रामा कुहिइएका स्कोंरपियोमने लर्कोमा जनताहरू प्रति कुनै साहानुभुति देखिँदैन । बाढी र पहिरोको बिचमा दलहरू भित्रको द्वन्द्व स्पष्ट देखिन्छ । मुख्यमन्त्रीको यात्रामा मेयर, उपमेयर खै भनेर सोध्न मन लाग्छ  ? मुख्यमन्त्रीले पनि खोज्नुपर्ने होला नि जस्तो पनि लाग्छ ।  राज्यले चाँहादा त्यहाँ क्षणभरमा सयौँ सौर्यबत्तिको जडानहरू गर्न सक्छ तर किन गरिरहेका छैन । राज्यले चाहँदा त्यहाँ जाने सवारी साधानहरुको व्यवस्थापन गर्न सक्छ तर किन चाहिरहेको छै ?धेरै संख्यामा स्काभेटरहरुको प्रयोग गरेर ग्याभिङ्गवालहरु लगाउन सक्छ , राहत तथा उद्धारका लागि केन्द्रीय स्तरबाट बजेटको व्यवस्थापन गर्न सक्छ । थप सुरक्षाकर्मीहरूको व्यवस्था गर्न सक्छ । हाल सम्म पनि यस कारण त्यस प्रकारको बाढी र पहिरो आएको र भविष्यमा कस्तो सम्म हुन सक्छ भन्ने सामान्य प्राविधिक ज्ञान सहितको वैज्ञानिक आधारहरू दिन सकेको छैन । कति बेला के हुन्छ त्रासको मनोविज्ञान छ । यो अवस्थामा राज्यले तत्काल गर्नुपर्ने विषयहरू समेत गर्न सकिरहेको छैन । त्यस माथि नेता तथा मन्त्रीहरूको हेलिकप्टर भ्रमणमा कोही विज्ञहरू छैनन् । केबल मन्त्रीज्यूहरूको रवैया देख्न सकिन्छ । विपदमा अवलोकन त विज्ञहरूले गर्नुपर्ने होला ।  दाताहरूले गर्नुपर्ने होला । त्यस्तो कुनै योजना नदेखिँदा केबल विपद्  र सङ्कटमा गरिने राजनीतिले झनै !
लज्जाबोध भएको छ । राज्य न विपदमा देखिन्छ ।  न संकटमा भेटिन्छ । राज्यका नाममा केही संख्याका सुरक्षा निकाय भजाएर राज्य देखाउने लोककथा कहिले सम्म ? यो सबै दृश्यहरूका बिचमा एउटै कुरा भेटिन्छ त्यो भनेको नेपाली मनहरू हो ।  जो दोडिहाल्नछन राहत र उद्धार लागि ! मेलम्ची लगायत हरेक विपदमा जोडिने सबै सहयोगी मनहरू प्रति आभार, साधुवाद

लेखक जन्मभूमि ,मेलम्ची ४
मेलम्ची र हेलम्बु अब नयाँ बन्न सकोस्,
त्यो यात्राको एक यात्री बन्ने अवसर जुटोस्
लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशको राहत अभियानका क्रममा


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा