शनिबार, साउन ९ २०८३
ताजा अपडेट

ज्वाला संग्रौला : पक्राउ, रंगभेदी अभिव्यक्तिमाथि छानविन हुने


  • सोमबार, असार ७ २०७८
6.7K
SHARES

फाइल तस्विर

युवा संघकी नेतृ खुश्बु घिमिरेमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले ज्वाला संगौलासहित तीन जनालाई पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार संग्रौलाका पति हिमाल उपाध्याय र शर्मिला वाइबा पनि पक्राउ परेका छन् । उनीहरुमाथि अभद्र व्यवहारसम्बन्धी कसूरमा प्रहरीले अनुसन्धान गरिरहेको छ । पक्राउ परेकी ज्वाला आफूलाई समाजसेवी भनेर चिनाउन रुचाउँछन् ।

पुरानै विवाद

अहिले उनी प्रहरी हिरासतमा पुग्नुको कारण चाहिँ पुरानो साथी खुश्बु (नविता) घिमिरेले दिएको किटानी जाहेरी हो ।

संग्रौलाले फेसबुकमा पार्टी गतिविधिको कडा आलोचना गरेपछि घिमिरेले प्रतिवाद गर्न थालिन् । संग्रौला सात महीनाअघि जापान छाडेर काठमाडौं आएपछि दुई जना सामाजिक सञ्जालमा झन् आरोप प्रत्यारोपमा उत्रिए ।

घिमिरेले व्यक्तिगत चरित्रमाथि प्रश्न उठाउँदै ज्वालाविरुद्ध स्टाटस लेखिन् । त्यसपछि यो विवाद प्रहरी वृत्त, गौशालासम्म पुगेको थियो ।

गौशाला डीएसपी जितेन्द्र बस्नेतले १६ जेठमा छलफल गराउँदै गर्दा ज्वालाको समूहले घिमिरेमाथि कुटपिट गर्‍यो । ज्वालासँगै काम गरेका एक व्यक्ति भन्छन्, ‘फेसबुकमा लेखेको विषयको कानूनी उपचार खोज्नुपर्थ्यो, कुटपिट गर्नु गलत भयो ।’

साइबर अपराधको कसूरमा आकर्षित हुने घटनामा प्रहरीले दुवै पक्षलाई छलफल गराएर मिलापत्र गरायो । दुवैको कुरा मिलेपछि घटना पनि सामसुम भयो । तर महाराजगञ्जमा एक प्रहरीविरुद्ध रंगभेदी अभिव्यक्ति दिएपछि पुरानो घटना पुनः सतहमा आयो । प्रहरीले अनुसन्धान थाल्यो ।

रंगभेदी अभिव्यक्तिमाथि पनि छानविन हुने

अघिल्लो साता मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा एउटा भिडियो सार्वजनिक भयो, जसमा रंगभेदी शब्द प्रयोग गरेर प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झालाई अपमान गरिएको थियो ।

संग्रौलाले प्रहरीलाई सुरुवातमा नाम सोधेकी थिइन् । नाम सुनेपछि उनले भनेकी थिइन्, ‘तपाईं मधेसी, अब उता मधेसतिर जाउ, खेती किसानी गर्नू । ट्राफिकको जागिर खाएर काम छैन ।’ उनले प्रहरीको सरुवा गरिदिने पनि धम्की दिइन् ।

यही अभिव्यक्तिपछि सामाजिक सञ्जालमा संग्रौलालाई कारबाही गर्नुपर्ने माग उठ्न थाल्यो । ज्वालाले त्यो अभिव्यक्ति दिएको केही दिनमै झाको बग्गिखानामा काज सरुवा भयो । यद्यपि प्रहरी अधिकृतहरु भने त्यसवेलासम्म घटनाबारे थाहा नभएको र त्यो संयोग मात्र भएको दाबी गर्छन् ।

घटनामा मधेशी आयोगले पनि चासो देखायो, प्रहरी प्रधान कार्यालयलाई पनि छानविन सुरु गर्न भन्यो । त्यहीवेला पुरानो घटना सार्वजनिक भएपछि त्यसैको जाहेरीका आधारमा प्रहरीले ज्वालासहितको समूहलाई पक्राउ गरेको हो ।

अहिले असई झालाई पनि जाहेरी दिन भनिएको छ । उनको जाहेरी परेपछि संग्रौलाविरुद्ध अभद्र व्यवहारको कसूरसहित रंगभेदी अभिव्यक्ति दिएको अभियोगमा पनि अनुसन्धान हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा