शनिबार, साउन ९ २०८३
ताजा अपडेट

आफैंले बोकेको राइफल पड्किएर सेनाका जवान गम्भीर घाइते


  • सोमबार, असार ७ २०७८
6.3K
SHARES

फाइल तस्विर

पर्साको वीरगञ्ज– ८ स्थित नेपाली सेनाको चण्डीप्रसाद गणका एक जना सिपाही गोली लागेर घाइते भएका छन् । पोखरिया नगरपालिका–५ सतवरिया घर भएका २२ वर्षीय श्यामबाबु प्रसाद चौहान घाइते भएका हुन् ।

उनको बायाँ चिउँडोको मुनि (घाँटीको भाग) र दाहिने आँखाको मुनि (अनुहारको भाग)मा एन–१६ राइफलको गोली लागेको घाउ छ । उनको घाउ हेर्दा गोली छेडेर बाहिर निस्किएको जस्तो देखिन्छ । आफैंले बोकेको राइफल पड्किएर उनी घाइते भएको सैनिक स्रोत बताउँछ ।

गणको कार्यालय भवन पछाडिको पोष्टमा सिपाही नरेश गुरुङसहित आइतबार साँझ ६ बजेदेखि ९ बजेसम्मको पोष्ट ड्युटीमा चौहान खटिएका थिए । ड्युटीमै रहेको बेला गएराति ८ः३५ बजे गोली पड्किएको आवाज आएको थियो । त्यतिखेर नरेश गुरुङ ट्वाइलेट गएका थिए । ब्यारेकभित्र रहेका सैनिकहरू गई पोष्टमा चढी हेर्दा श्यामबाबुले कोतबाट आफ्नै नाममा बुझेको एम १६ हतियारबाट एक राउण्ड फायर भएर घाइते अवस्थामा देखिएको थियो ।

उनलाई तत्काल उपचारको लागि नारायणी अस्पताल वीरगञ्जमा लगिएको थियो । त्यहाँबाट थप उपचारको लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा रिफर गरिएको थियो । घाइते चौहानको गम्भीर अवस्थामा नेशनल मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

लापरबाहीले घटना घटेको हो वा आत्महत्या प्रयास हो भन्ने बारेमा पछि अनुसन्धान गरिने गणका गणपति कर्णेल मदनजंग राणाले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा