शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

महाकालीमा पानीको बहाव यस वर्षकै उच्च, १५ घर डुबानमा


  • आइतबार, असार ६ २०७८
8.5K
SHARES

फाइल तस्विर

महाकाली नदीमा पानीको बहाव आज दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली नदीमा पानीको बहावमा उतारचढाव आइरहेको छ ।

“मध्यरातमा पानीको बहाव दुई लाख ६७ हजार क्युसेकसम्म पुगेको थियो”, इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक जीवन गुरुङले भने, “यो यस वर्षकै उच्च बहाव हो ।”

महाकालीमा आएको बाढीले भीमदत्त नगरपालिका–१२ ऐरीघाटमा स्थानीय छ सोनाह परिवार विस्थापित भएका छन् ।

“विस्थापितलाई हामीले जनता प्राविमा आश्रय दिएर राखेका छौँ”, गुरुङले भने, “स्थानीय खोला थुनिदा छेउछाउका बस्ती जलमग्न भएका छन् ।” स्थानीय प्रशासनले तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

त्यसैगरी महाकालीमा आइरहेको बाढीले दुई दिनदेखि नदीमा निर्माणाधीन चार लेनको पक्की पुलका संरचना भत्काउन थालेको छ ।

तीन अर्ब ६७ करोडको लागतमा निर्माणाधीन पुलको पहुँचमार्ग भत्काउनुका साथै बाढीले दोधारा चादँनीसित जोड्ने अस्थायी बाटोसमेत अवरुद्ध गराएको छ ।

त्यसैगरी पुलअन्तर्गत महाकालीमा निर्माण गरिएको टापु (आइल्याण्ड)समेत बगाएको पुल निर्माण कम्पनीले जनाएको छ । कुमार–सिएसइसी जेभीका इञ्जीनियर किशोरराज पाण्डेयले पुल संरचनामा बाढीले क्षति पुग्दा करोडौँ रकम बराबरको नोक्सान भएको बताए ।

“गत जेठमा पनि बाढी आउँदा रु तीन करोडभन्दा बढीको क्षति भएको थियो”, उनले भने, “त्यसबेला कालोपत्र गर्न स्थापना गरिएको प्लान्ट नै बगाएको थियो ।”

उनले अहिले पनि पहुँचमार्ग, टापुलगायतका संरचनामा बाढीले क्षति पुर्‍याएको बताउँदै तत्काल निर्माणको काम प्रभावित हुने बताए । “अस्थायीरूपमा क्षति कम होस् भनेर तारजाली ढुङ्गा भरान गरिरहेको भए पनि पानीको बहाव बढिरहँदा समस्या भयो”, उनले भने, “यसरी क्षति हुँदा निर्माणको समयावधि धकेलिने हुन्छ ।”

१५ घर डुबानमा

महाकाली नदीको पानीको बहाव बढेसँगै कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकभर बैदीफाँटाका १५ घर डुबानमा परेका छन् ।

राति २:४५ बजे नदीको पानीले बस्ती डुबानमा पारेपछि स्थानीय बासिन्दालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा