शनिबार, कार्तिक ८ २०८३
ताजा अपडेट

बाढीले लुम्बिनीका ६ जिल्ला सदरमुकाम पुग्ने सडक अवरुद्ध, ठाउँठाउँमा पहिरो


  • बुधबार, असार २ २०७८
8.7K
SHARES

सांकेतीक तस्बिर

तीन दिनदेखि निरन्तर वर्षापछि आएको पहिरोले लुम्बिनी प्रदेशका पहाडी ६ जिल्लाका सदरमुकाम पुग्ने सडक अवरुद्ध भएका छन् । रुपन्देहीमा हिजोदेखि अवरुद्ध पूर्वपश्चिम राजमार्ग आज पनि नखुल्ने भएको छ ।

प्रदेश प्रहरी कार्यालयले बाढीका कारण लुम्बिनी प्रदेशका धेरै सडकहरु अवरुद्ध भएको जनाएको छ । प्रदेशको पहाडी क्षेत्रका अधिकांश सदरमुकामहरु पुग्ने सडक सम्बन्ध बिच्छेद भएको छ भने सहायक मार्गहरु पनि डुबानमा छन् । राजमार्गसँग जोडिने पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम पुग्ने सबै सडकहरु ठाउँठाउँमा पहिरो खसेका कारण बन्द भएको छ ।

मंगलबार दिउसोदेखि बन्द रहेको पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल नारायणगढ खण्डको देवदह नजिकै भास्सिएको सडक आजसम्म खुल्न सकेको छैन ।

निरन्तर वर्षा जारी रहेका कारण बैकल्पिक सडक बनाउन नसकिएको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ ।

त्यसैगरी सिद्धार्थ राजमार्गको बुटवल पाल्पा खण्डमा कम्तीमा आधा दर्जन स्थानमा पहिरो गएको छ भने बर्तुङ राम्दी खण्ड, तानसेन रिडी, रिडी तम्घास र रिडी वामीटक्सार खण्ड पनि बन्द रहेका छन् ।

सिद्धार्थ राजमार्गको तिनाउ ५ कालिमाटी, तानसेनको गौडा पुल, तानसेन ८ को जरेपिपल तथा तानसेन १४ गाईघाटमा पनि पहिरोका कारण सडक अवरुद्ध रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलमा प्रहरी प्रवक्ता डीएसपी डिल्लीनारायण पाण्डेले बताए । पाण्डेका अनुसार रिब्दीकोटको हार्थोक, रिब्दीकोटकै मालमुलमा पनि पहिरो खसेको छ । उता पाल्पा रामपुर पूर्वखोला १ लुम्छापमा, रम्भा ४ हुमिन, बग्नसकालीको सेरा लगायतका क्षेत्रमा पनि पहिरोका कारण सडक अवरुद्ध रहेको छ ।

कपिलवस्तुको गारुसिङ्गे सन्धिखर्क सडकको फुदवाङ, प्युठान भालुवाङ सडकको सर्मरानी ४ खहरेखोलामा सडक बन्द हुँदा रोल्पा, प्युठानसँगको सडक सम्बन्ध बिच्छेद भएको डीएसपी पाण्डेले बताए । बुटवल पश्चिमको राजमार्ग भने सुचारु रहेको उनले जानकारी दिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा