पम्पमा काम गर्ने मजदुरलाई खोपको व्यवस्था नभए तेल खरिद नगर्ने व्यवसायीहरूले चेतावनी दिएका छन्। कोरोना महामारीमा जोखिम मोलेर काम गर्नु पर्ने भन्दै व्यवसायी र मजदुरले खोपको व्यवस्था नभए तेल खरिद नगर्ने चेतावनी दिएका हुन्।
आयल निगमले एक पक्षीय निर्णय गरेर ट्यांकर चालकलाई मात्र खोप दिन लागेको भन्दै पम्प व्यवसायीहरूले पनि तेल खरिद नगर्ने भएको बागमती पेट्रोलियम डिलर्स एसोसियसनका अध्यक्ष अचुत खड्काले बताए।
‘निगमले ट्यांकर चालकलाई मात्रै खोप दिन लागेको छ। पम्पमा काम गर्ने मजदुरलाई पनि खोप चाहिन्छ,’ उनले भने।
उनका अनुसार बुधबारदेखि नै पम्पहरूले तेल खरिद नगर्ने निर्णय भएको छ। खोपको व्यवस्था नभएको भन्दै ट्यांकर चालकले आइबारदेखि इन्धन ढुवानी रोकेका थिए। तीन दिनदेखि पम्पमा तेल आपूर्ति नहुँदा मौज्दात सकिँदै गएको खड्काले बताए।
‘हामीसँग तेल कम छ। पम्प बन्द हुँदैन, बाँकी भएको तेल बेच्छौं,’ उनले भने, ‘तर भोलिदेखि तेल खरिद गर्दैनौं।’
पम्प व्यवसायीले तेल खरिद नगरे कानूनअनुसार कारबाही गर्ने नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्यायले चेतावनी दिए।
‘हामी क्रमबद्ध रूपमा सबैलाई खोपको व्यवस्था गर्छौँ। त्यसका लागि हामीले मन्त्रालयमा पहल पनि गरिरहेका छौं,’ उनले भने, ‘मनोमानी तरिकाले तेल खरिद नगरे कारबाही हुन्छ।
ट्यांकर चालकलाई भने बुधबारदेखि खोप लगाइने निगमका प्रवक्ता उपाध्यायले जानकारी दिए। उनका अनुसार ट्यांकर चालकलाई बलम्बु पुलिस हस्पिटलबाट खोप लगाइने छ।