आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

खोप माग्दै अत्यावश्यक पेट्रोलियम पदार्थको ढुवानी उपत्यकामा अवरुद्ध


  • मंगलबार, असार १ २०७८
16K
SHARES

फाइल तस्बिर

सरकारले अत्यावश्यक वस्तुको सूचीमा राखेको पेट्रोलियम पदार्थको ढुवानी दोस्रो दिन पनि बागमती प्रदेशमा अवरुद्ध भयो । कोरोनाविरुद्धको खोप नपाएको भन्दै इन्धन ढुवानी गर्ने चालकहरूले आइतबारबाट सुरु गरेको अवरोध सोमबार पनि जारी रह्यो ।

बागमती प्रदेशका लागि भारतको बरौनीबाट पेट्रोल तथा बाराको अमलेखगन्जस्थित निगमको डिपोबाट डिजेल ढुवानी गर्ने र थानकोट प्रादेशिक डिपोबाट पम्पहरूसम्म पेट्रोलियम ढुवानी गर्ने चालकहरू खोप पाउनु पर्ने भन्दै सेवा रोकेर आन्दोलनमा उत्रिएका हुन् ।

नेपाल पेट्रोलियम ट्यांकर चालक संघमा संगठित चालकहरूले संघमा आवद्ध २४ सय चालक तथा सहचालकलाई खोपको व्यवस्था नभएसम्म आन्दोलन जारी राख्ने अडान लिएका छन् ।

आइतबारबाट सुरु भएको चालकहरूको आन्दोलनका कारण अमलेखगन्ज डिपोमा भारतबाट हुने पेट्रोलको आयात ठप्प भएको छ । अमलेखगन्ज डिपोबाट बागमती प्रादेशिक डिपो थानकोट र यहाँबाट प्रदेशभरिका पम्पहरूमा हुने ढुवानी पनि अवरुद्ध छ ।

निषेधाज्ञाले पेट्रोलियम खपत न्यून रहेका कारण असर कम देखिए पनि चालकहरूको आन्दोलनले प्रदेशको समग्र वितरण प्रणाली अवरुद्ध भएको निगमको थानकोट डिपोले जनाएको छ ।

अहिलेसम्म सरकारी तथा सहकारीका ट्यांकर र पम्पहरूले माग धानेका छन् । यस्तै अवस्था केही दिन रहे पेट्रोलियम अभाव देखिन थाल्ने डिपो प्रमुख अभिषेक ठाकुरले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा