शनिबार, साउन ९ २०८३
ताजा अपडेट

डोरमणि र अष्टलक्ष्मीको मेलमिलाप, वागमती प्रदेश सरकार सुरक्षित


  • आइतबार, जेष्ठ ३० २०७८
11.1K
SHARES

फाइल तस्बिर

पछिल्लो राजनीतिक विकासक्रमसँगै प्रदेश सरकारहरु धर्मराइरहेका बेला एमाले नेतृत्वको बागमती सरकार भने स्थिर बनेको छ । संस्थापन र माधव नेपाल समूहको मेलमिलापपछि सरकार तत्काललाई ‘सेफ जोन’ मा उक्लेको हो ।

माधव नेपाल समूहकी शीर्ष नेतृ अष्टलक्ष्मी शाक्यको नेतृत्वमा वैकल्पिक सरकार बनाउन भन्दै सरकारविरुद्ध अविश्वास प्रस्ताव समेत दायर गरिएका थियो । तर, मुख्यमन्त्रीकी आकांक्षी शाक्यले अहिले मुख्यमन्त्री डोरमणि पौडेलसँग मेलमिलाप गरेकी छिन् ।

एमालेका सांसदहरु एकजुट भएर हिजो सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई प्रदेशसभाबाट पारित गराए । मतदानअघि मुख्यमन्त्री पौडेल र शाक्यले पार्टीका सांसदहरुलाई नीति तथा कार्यक्रमको पक्षमा मत हाल्न संयुक्त निर्देशन दिएका थिए । शनिबार बिहान बसेको एमाले बाग्मती प्रदेश संसदीय दलको वैठकमा उनीहरुले सो निर्देशन दिएसँगै प्रदेशमा एमाले एकढिक्का बनेको हो ।

प्रदेश सरकारले नीति तथा कार्यक्रम बनाउने प्रक्रियामा माधव समूहलाई पनि सहभागी गराएको थियो । नीति तथा कार्यक्रमका लागि सुझाव दिन राजेन्द्र पाण्डेको नेतृत्वमा ९ सदस्यीय कार्यदल बनाइएको थियो । सोही कार्यदलले दिएको सुझावअनुसार आएपछि दुवै पक्षबीच मेलमिलापको आधार तयार भएको हो ।

साथै, यसअघि माधव पक्षका सांसदलाई गरिएको कारवाही (स्पष्टीकरण) फिर्ता लिन पनि पौडेल तयार भएका छन् । बागमती सरकारले आगामी आर्थिक वर्षको बजेटको तयारी गरिरहेको छ । त्यसमा पनि माधव पक्षका सुझावहरु समेटिने भएका छन् ।

यस प्रदेशमा एमालेसँग एकल बहुमत छ । प्रदेशसभाका एक सय १० सदस्यमध्ये तत्कालीन नेकपाका मात्रै ८० जना थिए । उनीहरुमध्ये एमालेका ५७ र माओवादीका २३ सांसद छन् । बहुमतका लागि ५६ सांसद आवश्यक पर्ने हुँदा एमाले एक्लैको संख्या पर्याप्त छ । तर, एमालेभित्र माधव नेपाल पक्षले साथ छोडेको अवस्थामा भने सरकार जोगिँदैन । प्रदेशमा माधव नेपाल पक्षधर १५ जना सांसद छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा