शनिबार, साउन ९ २०८३
ताजा अपडेट

नगरपालिका परिसरमा कार्यकर्तादेखि पहुँचवालालाई खोप वितरण, स्थानीयले घेरे नगर कार्यालय


  • शनिबार, जेष्ठ २९ २०७८
17.7K
SHARES

बूढानीलकण्ठ नगरपालिकाले खोप वितरणमा पक्षपाती गरेको भन्दै चौतर्फी विरोध भएको छ । नगरपालिकाका मेयर उद्धव खरेल लगायत वडा अध्यक्षहरूले आफू निकटका व्यक्तिहरूलाई खोप लगाएपछि नगरवासीहरुले विरोध जनाएका हुन् ।

सरकारले ६० देखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई भनेर ल्याएको खोप अनाधिकृत रूपमा कार्यकर्ता र पहुँचको आधारमा कम उमेरका व्यक्तिहरूलाई समेत खोप लगाएपछि स्थानीय नगरपालिकाको कार्यालय घेराउसमेत गरेका छन् ।

खोपका लगाउनका लागि जेष्ठ २५, २६ र २७ गते तोकिएको थियो । तर २ दिन पछि पर्याप्त खोप नभएको भन्दै खोप वितरण कार्यक्रम स्थगित गरिएको थियो । स्थगन पछि शुक्रबार पुनः १ दिनका लागि खोप कार्यक्रम सञ्चालन गरिएको थियो । हात्तिगौडामा रहेको गणेश माध्यमिक विद्यालय र कपनको बाल उद्धार माध्यमिक विद्यालय प्राङ्गणमा १० देखि ३ बजेसम्म खोप वितरण गरिएको थियो । त्यस पश्चात नगर कार्यालयमा पहुँचवाला र कार्यकर्तालाई खोप लगाइएको भन्दै स्थानीयले नगर कार्यालय घेराउन गरेका हुन् ।

शुक्रबार दिउसो खोप लगाउने समय सकिए पश्चात मेयरको कार्यकक्ष अगाडि पुनः खोप लगाउन थालिएपछि स्थानीय आक्रोशित भएका थिए । नगरपालिकाको कार्यालय भवन भित्र नगर प्रमुखको कार्यालय अगाडिको कोठामा पहिलो चरणमा खोप लिन छुटेका  नगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी, पत्रकारको नाममा २ सय ५० जना आसेपासेलाई खोप लगाएको सूचना बाहिरिएपछि स्थानीय आक्रोशित हुँदै नगरपालिकाको कार्यालय घेराउन गरेका थिए ।

खोप वितरणमा अनियमितता भएको भन्दै नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर ४, प्रदेश सभा (ख)ले विरोध जनाएको छ । प्रदेश सभा (ख)का सभापति विनोद चालिसेले आसे एक विज्ञप्ति सार्वजनिक गर्दै नगरपालिकाको उक्त कार्यको भर्त्सना गरेका छन् ।

यता नेकपा माओवादी केन्द्रले समेत कानुन र कर्तव्यको कार्यान्वयन गर्ने जिम्मेवार निकायबाटै यसरी कानुन र विधिको नाङ्गो रूपमा भएको उल्लङ्घनले समाजमा उत्पन्न हुनसक्ने अराजक परिस्थितिको भागिदार सरकार मेयरलाई सचेत गराएको छ । एक विज्ञप्ति निकाल्दै माओवादी केन्द्रका बूढानीलकण्ठ नगर समितिले यस्ता जनप्रतिनिधिको भेषमा जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने भ्रष्ट अपराधी तत्त्वहरूलाई महामारी तथा संक्रामक रोग सम्बन्धी कानुनको दायराभित्र ल्याई तुरुन्तै कारबाही गर्न माग समेत गरेको छ ।

यस विषयमा नगरपालिकाका मेयर उद्धव खरेलले स्वास्थ्य शाखाका कर्मचारीका कारण समस्या आएको बताए । केही कर्मचारीलाई लगाउन ल्याएको खोपलाई स्वास्थ्य शाखाले मनलाग्दी गरेको आरोप लगाए ।

स्वास्थ्य शाखा प्रमुख कुमार दाहालले नगरपालिकाका मेयर खरेलकै सल्लाहमा खोप लगाएको बताए । ‘मेयरको कार्यकक्ष अगाडि मेयरको अनुमतिमा विना एउटा सामान्य कर्मचारीले कसरी खोप केन्द्र सञ्चालन गर्न सक्छ र ?’ केटिएम खवरसँग उनले भने, ‘उहाँले कसरी त्यसो भन्नुभयो मलाई थाहा भएन् । उनले शुक्रबार लगभग २ सय जनालाई खोप लगाएको बताए ।

जनप्रतिनिधिले आफ्नो आफन्तलाई पनि लगाउन प्रेसर दिएपछि खोप लगाउन स्थगित गरिएको उनको भनाई छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा