बिहिबार, कार्तिक १३ २०८३
ताजा अपडेट

जसपाका गण्डकी प्रदेशसभा सदस्यको प्रश्न– यो सरकारलाई विश्वासको मत किन दिने ?


  • बिहिबार, जेष्ठ २७ २०७८
7.5K
SHARES

फाइल तस्विर

जसपा नेपाल (साविक नयाँ शक्ति) पार्टीका गण्डकी प्रदेशसभा सदस्य हरिशरण आचार्यले प्रदेश सरकारलाई समर्थन गरेर विश्वासको मत दिनुपर्ने कारण आफूहरुले केही नदेखेको प्रस्ट पारेका छन् ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशसभामा पेस गरेको विश्वासको मतमाथिको छलफलमा भाग लिँदै उनले के आधारमा वर्तमान सरकारलाई विश्वासको मत दिने भन्ने प्रश्न गरे ।

उनले आफूभन्दा अघि छलफलमा भाग लिँदै एमाले सचेतक मायानाथ अधिकारीले ‘काठमाडौंमा पानी पर्दा पोखरामा छाता ओढ्ने’ प्रवृत्ति देखिएको भन्दै गरेको टिप्पणीमा केन्द्रित हुँदै उनले भने, ‘केन्द्र सरकारले गलत ढंगले जसरी काम गरेको छ, त्यसको विरोधमा यहाँ बोल्दा काठमाडौंमा पानी पर्दा पोखरामा छाता ओढ्यो भनेर भनिएको छ ।’

उनले आफूहरु पनि जनताबीचबाट चुनिएर आएको जिकिर गरे । उनले प्रश्न गरे, ‘लोकतन्त्रको हुर्मत लिने गरी कुनै कानुन र संविधानलाई आधार नमानीकन शासन गर्न खोजिन्छ भने त्यसलाई ठिक भनेर लुरुलुरु हिँडिरहेका साथीलाई कसरी विश्वास गर्नु ?’

संविधानमा भएका कमजोरीमा टेकेर संसद विघटन, संघीयतामाथि हात लगाउने काम भएको दावी गर्दै उनले त्यसैलाई ठिक भनेर आउने प्रदेश सरकारलाई कसरी विश्वासको मत दिने भन्ने प्रश्नसमेत गरे ।

आफुहरु गणतन्त्र र संघीयतालाई धुजाधुजा पारेर च्यात्ने अभियानमा सरिक हुन नसक्ने उनले प्रस्ट पारे ।

उनले प्रश्न गरे, ‘हिजो नागरिकता चकलेट बाँडेझैं बाँड्नु हुन्न भन्ने, आज संसदलाई मारेर अध्यादेशमार्फत विधेयक ल्याउने । हिजो त्यही बेठिक, आज कसरी ठिक हुन्छ ?’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा