बुधबार, असार ९ २०७८
ताजा अपडेट

निषेधाज्ञाको मौका छोपी चुनिखेलमा प्लटिङ, पुरै बस्ती जोखिममा


  • KTM Khabar
  • मंगलबार, जेष्ठ २५ २०७८
4K
SHARES

२५ जेठ, काठमाडौँ ।

केही समयअघि हरियाली देखिने काठमाडौँको उत्तरी क्षेत्रका डाँडा काँडाहरू अहिले कुरूप देखिन थालेका छन् । निषेधाज्ञाको मौका छोपेर जग्गा दलालहरूले ठाउँ ठाउँमा प्लटिङ गर्न थालेपछि डाँडा काँडाहरू कुरूप देखिएका हुन् ।

काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित चुनिखेलको सापाटार क्षेत्रमा निषेधाज्ञाको उल्लङ्घन गरेर जग्गा प्लटिङ भइरहेको छ । निषेधाज्ञाको प्रवाह नगरी डोजर लगाएर ट्रकका ट्रक माटो, बालुवा, ढुङ्गा, गिटी ओसार पसार भइरहेको छ ।

कपनका जग्गा व्यवसायी रामप्रसाद चौलागाईँ, नारायणदास श्रेष्ठ, सागर श्रेष्ठ, फाइभ फिङ्गर्स कम्पनीको समेत लगानीमा गैरकानुनी रूपमा जग्गा प्लटिङ भइरहेको छ । जग्गा प्लटिङ गरेर माटो, बालुवा, ढुङ्गा, गिटी सापाटारमै रहेको वासिङ्ग सेन्टरमा बिक्री गरिरहेका छन् ।

निषेधाज्ञाको उलङ्घन गरेर प्लटिङ गरिरहेका जग्गा व्यवसायीले कहीँ कसैको अनुमति नलिएको बताएका छन् । केटिएम खबरको सम्पर्कमा आएका जग्गा व्यवसायी नारायण दास श्रेष्ठले अनुमति विना प्लटिङ गरिरहेको स्वीकारे । ‘जग्गा प्लटिङ गर्नका लागि स्वीकृति लिन पर्छ जस्तो लाग्दैन । हामीले स्वीकृति लिएका छैनौँ । केटिएम खबरसँग उनले भने, ‘तर पनि एक पटक सुजनलाई सोध्नुहोस् न त ।’

सुजन श्रेष्ठले वडाबाट स्वीकृति लिएर जग्गा सम्याउन थालिएको बताए । निषेधाज्ञाको समयमा वडाको सिफारिसले काम गर्छ र ? भन्ने केटिएम खबरको प्रश्नमा उनले भने, ‘हामी गरेर खाने मान्छे हजुर त्यतिकै बस्न भन्दा समयको सदुपयोग गरौँ भनेर जग्गा सम्याउन थालिएको छ ।’

जग्गा सम्याउने नाममा उनीहरूले माटो, बालुवा, ढुङ्गा, गिटीको व्यापार गरिरहेको स्थानीयवासीले बताएका छन् । बालुवा वासिङ सेन्टर स्थापना भएपछि सुन्दर सापाटार कुरूप बनेको उनीहरूको भनाई छ ।

‘अहिले ठाउँ ठाउँमा गरिएको प्लटिङले भूक्षय ल्याउने चिन्ताले सताउन थालेको छ ।‘ एक स्थानीयले केटिएम खबरसँग भने, ‘बर्खा सुरु भएपछि बाँचिएला जस्तो छैन । पहिरो जाँदा यसको जिम्मा कसले लिने ।’

सामान्य अवस्थामा प्लटिङ गर्दा सरकारी संयन्त्रले अवरोध गर्ने भएपछि निषेधाज्ञाको समयमा काम थालिएको हो । जिल्ला प्रशासन कार्यालय, वन कार्यालय, राष्ट्रिय निकुञ्ज र स्थानीय जनप्रतिनिधिको आँखा छलेर प्लटिङ भइरहेको छ ।

प्लटिङका लागि स्वीकृति दिएको विषयमा बुढानीलकण्ठ नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले अनविज्ञता प्रकट गरे । ‘के भएको हो भनेर भन्नलाई ठ्याक्कै मसँग उत्तर भएन । बुझेर खबर गर्छु ।’

यस विषयमा कुरा गर्दा काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बुझेर एक्सन लिने बताए । सिडिओ पराजुलीले कसको अनुमतिमा प्लटिङ भइरहेको रहेछ, मेयरलाई बुझेर खबर गर्छु ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले पछिल्लो पटक जेठ १९ गते सार्वजनिक सूचना निकालेर निर्माण सामाग्रीहरूको ढुवानीका लागि राती ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन गर्न मिल्ने बताएको थियो । उक्त सूचनाको उल्लङ्घन गर्दै रात दिन निर्बाध रूपमा ट्रिपर, ट्रक र डोजरहरू चलिरहेका छन् । रातारात धनी बन्नका लागि स्थानीय जनप्रतिनिधिको संलग्नतामा खुलेआम निषेधाज्ञाको अवज्ञा भइरहेको स्थानीयहरूको भनाई छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा