सुदूरपश्चिम प्रदेश सरकारले विश्वासको मत पाएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव पेश गरेपछि सभामुखले निर्णयार्थ पेश गर्दा उनको पक्षमा बहुमत पुगेको हो ।
मुख्यमन्त्री भट्टले एमालेभित्रको विवादकै कारण विश्वासको मत लिनु परेको थियो भने एमालेकै सांसदको मतको कारण सरकार जोगिएको छ ।
मंगलबार प्रदेशसभामा भएको मतविभाजनमा मुख्यमन्त्रीको पक्षमा ३० मत प्राप्त भयो भने विपक्षमा ९ मत पर्यो । यस्तै १२ सांसद मतदान प्रक्रियामा सहभागी भएनन् ।
मुख्यमन्त्रीलाई माओवादीसहित एमालेले समर्थन गर्ने निर्णय औपचारिक निर्णय गरेको थियो भने काँग्रेसले आवश्यकताअनुसार विश्वासको मत दिने निर्णय गरेको थियो ।
५२ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि २७ जनाको समर्थन आवश्यक हुन्थ्यो ।
प्रदेशसभामा मुख्यमन्त्री भट्टको दल नेकपा माओवादी केन्द्रका १३ सांसद छन् । प्रदेशसभाको सबैभन्दा ठुलो दल रहेको एमालेका २५ सांसद छन् ।
तीमध्ये ७ जनामात्र ओली पक्षका छन् । एमालेको खनाल–नेपाल पक्षले भने वर्तमान सरकारमै सत्ता साझेदारी गर्दै आएको छ । एमालेको केन्द्र सुदूरपश्चिम सरकारलाई समर्थन नगर्ने नीतिमा भएपनि सुदूरपश्चिममा माधव नेपाल पक्षको बाहुल्य भएकाले केन्द्रको निर्णय उलंघन भएको हो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।